‘नवप्रवर्तनशील श्रवण–दृष्टिविहीन समावेशीकरण : शिक्षा, रोजगार र सामुदायिक सहभागिता’ भन्ने मुख्य विषयवस्तुमा आधारित रहेर दृष्टि र श्रवण दुवै क्षमतामा चुनौती भएका व्यक्तिहरूको प्रथम श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन पोखरामा हुँदै छ।
अपांगताको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था डेफ–ब्लाइन्ड इन्टरनेसनल, एनडिआइएन, एनएबी, बहिरा–दृष्टिविहीन अभिभावक समाज, श्रवण–दृष्टिविहीन संघ नेपाल र सेन्स इन्टरनेसनल भारतको आयोजनामा एसिया क्षेत्रको पहिलो श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन पोखरामा शनिबारदेखि सुरु हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा नेपालसँगै विश्वभरका दृष्टि र श्रवण दुवै क्षमतामा चुनौती भएका व्यक्ति, श्रवण–दृष्टिविहीन व्यक्ति, उनीहरूका परिवार, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ, अधिकारकर्मी, नीति–निर्माता र सरकारी अधिकारीहरू गरी २२ देशका तीन सयभन्दा बढी सहभागी हुने नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले जानकारी दिए। तीनदिने सम्मेलनमा श्रवण–दृष्टिविहीनका लागि भइरहेका असल अभ्यास र चुनौतीहरूका विषयमा छलफलसँगै अनुभव आदान–प्रदानलगायतका कार्यक्रम हुने खनालले जानकारी दिए।
श्रवण–दृष्टिविहीन भएका व्यक्तिहरूलाई सीपमूलक र आयमूलक कार्यमा लगाउन आवश्यक रहेको उनले बताए। अन्य अपांगता भएका व्यक्तिभन्दा श्रवण–दृष्टिविहीनहरू शिक्षामा तीन र रोजगारीमा १० गुणा पछि रहेको भन्दै उनले नेपालमा श्रवण–दृष्टिविहीनको संख्या १० हजारको हाराहारीमा रहेको बताए। उनीहरूका लागि शिक्षाको खाँचो रहेको र हाल नेपालमा पाँच स्थानमा मात्र श्रवण–दृष्टिविहीनका लागि स्रोत स्कुल रहेको उनले जानकारी दिए।
डेफलाइन इन्टरनेसनलका अध्यक्ष मिर्को पाउनले २२ वर्षपछि नेपालमा कार्यक्रम हुन लागेको जानकारी दिए। सम्मेलनले सञ्जाल निर्माणको अवसर, सहभागीहरूलाई एक–अर्कासँग अनुभव साटासाट गर्ने, सम्बन्ध विस्तार गर्ने, चुनौतीहरूबारे छलफल गर्ने र नवप्रवर्तनमार्फत श्रवण–दृष्टिविहीन समुदायका लागि अवसरहरू सिर्जना गर्ने अवसर प्राप्त हुने बताए। अपांगता कुनै पनि वेला हुन सक्ने भन्दै उनले अपांगता भएका व्यक्तिहरू संसारभर बहिष्करणमा परेका उल्लेख गरे। उनीहरूका लागि धेरै काम गर्न बाँकी रहेकाले सम्मेलनले यसमा सहयोग पुर्याउने उनको भनाइ छ।
सेन्स इन्टरनेसनल भारतका संस्थापक अखिल पालले २२ वर्षअघि नेपालमा श्रवण–दृष्टिविहीनको संख्या दुई–चारजना मात्र अभिलेख रहेको स्मरण गर्दै हाल यो संख्या हजारौँमा पुगेको बताए। श्रवण–दृष्टिविहीनका लागि अन्य देशमा धेरै सेवा–सुविधाहरू भए पनि नेपालमा भने नरहेकाले अन्य देशका सहभागीका लागि अभावमा जीवन बिताइरहेका नेपालीहरूबाट सिक्न पाउनु ठुलो कुरा रहेको बताए। अभावबिच नेपालमा भएका कामको विदेशबाट आएका सहभागीहरूले अनुभवसँगै सिक्ने मौका पाउने भएकाले सम्मेलन एकदमै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
श्रवण–दृष्टिविहीन संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज रिमालका अनुसार तीनदिने सम्मेलनमा सहभागीहरूलाई तीन समूहमा बाँडेर समावेशी शिक्षा, रोजगार र समुदायमा सहभागिताजस्ता विविध विषयहरूमा कार्यशाला र प्यानल छलफल हुनेछ। सम्मेलनमा सातवटा ‘कि नोट’ प्रस्तुति, तीन प्यानल डिस्कसन, ६८ कार्यपत्र प्रस्तुत हुनेछ।