तास खेल्न सापटी लिएको पैसा फिर्ता नदिएको विषयमा विवादपछि आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २७, उदयपुरका मुना तिवारी, सोही ठाउँका मुकेशप्रसाद यादव र अरुणकुमार यादव छन्। तीनै आरोपी १९ वर्षका रहेका प्रहरीले जनाएको छ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार फागुन ११ गते साँझ वीरगन्ज– २८ स्थित जगरनाथपुर ढाठभन्दा करिब ५०० मिटर पश्चिमतर्फ भेडैया खोलामा वडा नम्बर २७ का १९ वर्षीय इशालप्रसाद कुर्मीको शव तैरिरहेको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा कुर्मीको हत्या भएको र घटनामा उनको साथीहरूकै संलग्नता देखिएपछि तीनैजनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक मिश्रले बताए।
उनका अनुसार पक्राउ परेका तीनैजना माथि ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढेको छ।
कुर्मी र उनका छिमेकी साथीहरू तास खेल्न गएका थिए। तीन हजार ५ सय सापटी रकमको विषयमा विवादपछि मुकेश, अरुण र मुना मिलेर कुर्मीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।