जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसंख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्यांकले देखाएको छ ।

यी आँकडाहरूले विश्वको चौथो ठुलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसांख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसंख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२४ मा विदेशी नागरिकहरूसहित जापानमा सात लाख २० हजार ९८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार ६३१ बाट पाँच प्रतिशतले कम हो ।

जन्मको संख्या सरकारले सन् १८९९ मा तथ्यांक राख्न सुरु गरेयता सबैभन्दा कम भयो । मृत्युको संख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको संख्या सन् २०२३ मा १.८ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।

जापानको कुल जनसंख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्यांकले देखाएको छ । यो एक वर्षअघिको तुलनामा ०.४६ प्रतिशतले कम हो ।

जन्म तथ्यांकले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ । दक्षिण कोरियामा बुधबारको तथ्यांकले सन् २०२४ मा प्रतिहजार मानिसमा जन्मिएका बच्चाहरूको संख्या बढेको छ । यो एक दशकभन्दा बढी समयमा पहिलोपटक हो ।

सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए । जापानी प्रधानमन्त्री शिगेरू इशिबाले जनसंख्या संकटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताएका छन् । तर, शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ ।

सुझावित समाचार