सुपर काबेली जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु, राष्‍ट्रिय प्रसारणलाइनमा जोडियो

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा सुपर काबेली जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत् उत्पादन सुरु भएको हो । 

सिरिजंघा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युत् आयोजना निर्माण गरिएको हो । विद्युत् बिहीबारदेखि उत्पादन सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए । ढुंगानाले बाँध, सुरुङ, विद्युतगृह, प्रसारणलाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण दुई दिन भएपश्चात् उत्पादन सुरु गरिएको जानकारी दिए । 

बिहीबार नेपाल विद्युत् प्राधिकरणकाे प्राविधिक टोली आई आयोजनाको औपचारिक उत्पादन सुरु भएको ढुंगानाले बताए । आयोजनाको विद्युतगृह सिरिजंघा गाउँपालिका– ६ मामाङ्खे र वडा ७ खेबाङको सिमाना ओथम्मामा रहेको छ । ओथम्मादेखि पाँचथर, हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए क्षमताको सब स्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको ढुंगानाले जानकारी दिए । 

आयोजना निर्माणको लागत दुई अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रवर्द्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको आयोजनाले जनाएको छ ।

०८१ चैत १० भित्र निर्माण गरी सक्ने गरी २०८९ पुस २५ गतेदेखि सुरु गरिएको आयोजनाको काम एक महिना अगावै सम्पन्न भएकोसमेत सम्पर्क अधिकृत ढुंगानाले जानकारी दिए । ताप्लेजुङ जिल्लामा अब २९ विद्युत् आयोजनाहरू निर्माणाधीन रहेका छन् । 
 

सुझावित समाचार