परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभामा रहेकी मन्त्री डा. देउवाले विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई सो आग्रह गरेकी हुन् ।
मन्त्री डा. देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानव अधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् ।
समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । सो समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानव अधिकारको पक्षमा अडिग छ । मानव अधिकारको रक्षा र प्रवर्द्धनमा हामीले विगत लामो समयदेखि काम गरिरहेका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ। संयुक्त राष्ट्रसंघका सबै सदस्यराष्ट्रहरूलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु,’ मन्त्री डा. देउवाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूलाई मौलिक हकका रूपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहिआएको छ।’
त्यस अवसरमा उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् । मन्त्री डा. देउवाले पछिल्ला समयमा नेपालले बाल, महिला तथा अल्पसंख्यकहरूको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरू हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहिआएको पनि स्पष्ट पारिन् ।
यसअघि मन्त्री डा. देउवाले गत मंगलबार राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन्। जेनेभामा जारी सो सत्रमा राष्ट्रसंघका सदस्यराष्ट्रहरूका परराष्ट्र तथा मानव अधिकारसम्बन्धी मन्त्री एवं मानव अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता छ । मन्त्री डा. देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । उनी शुक्रबार बिहान स्वदेश फर्कने कार्यतालिका छ।