बजारमा च्याउको माग बढ्दै गएपछि सल्यानका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित हुन थालेका छन् । च्याउखेतीलाई रोजगारीको आधार बनाई किसानले मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।
सुरु–सुरुमा च्याउ फलाउने र बेच्ने गर्दै आएका सल्यानको शारदा नगरपालिका–१३ सांगारका लालबहादुर नेपालीले हिजोआज आफैँ च्याउको बिउ उत्पादन गर्छन् । १४ वर्षदेखि व्यावसायिक रूपमा च्याउखेती गर्दै आइरहेको नेपालीले अहिले च्याउ र बिउबाट नै वार्षिक २० लाखभन्दा बढीको कारोबार हुने गरेको बताए । उनका अनुसार बजारको मागअनुसार जिल्लामा च्याउ नै उत्पादन भएको छैन । जिल्लाभित्र उत्पादन भएको च्याउ नपुग्दा जिल्लाबाहिरबाट समेत आउने गरेको छ ।
विगत पाँच वर्षदेखि च्याउखेती गर्दै आएका शारदा नगरपालिका– १ श्रीनगरका देवबहादुर बुढाले पनि च्याउखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बजारीकरण हुँदैन कि भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
बजारको मागलाई मध्यनजर गर्दै अघिल्लो वर्ष तीनवटा टनेलमा च्याउखेती गर्दै आएकाले यस वर्ष ६ वटा टनेल विस्तार गरेका छन् । यस वर्ष वार्षिक २० लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्यका साथ टनेल विस्तारलाई अघि बढाइरहेको बुढाको भनाइ छ ।
जिल्लाभर कति किसान व्यावसायिक च्याउखेतीमा आबद्ध छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर ११–१२ जना किसानले च्याउखेती गर्दै आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा च्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएकाले अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । जिल्लामा कन्ये र गोब्रे च्याउको खेती गरिँदै आएको छ ।