संखुवासभाको नुम बजारमा मकालु महोत्सव सुरु

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको उत्तरी भेगमा रहेको मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा मकालु महोत्सव सुरु भएको छ । बुधबार एक भव्य कार्यक्रमबिच भाषा आयोगका सदस्य डा. पुस्करदेव भट्ट, कोशी प्रदेशका पूर्वमन्त्री तथा संखुवासभाका सांसद राजेन्द्र कार्की र मकालुका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले पानसमा बत्ती बालेर महोत्सवको औपचारिक रूपमा उद्घाटन गरे ।

मकालु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु गाउँपालिकाले बुधबारबाट मकालु महोत्सव आयोजना गरेको हो । महोत्सव १७ गते शनिबारसम्म चार दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको छ भने प्रत्येक वडाले कृषि उत्पादनका स्टलहरू राखेका छन् । झाँकीले नुमको विभिन्न स्थानको परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगेको थियो ।

विश्वको पाँचौँ अग्लो हिमाल मकालु आठ हजार ४६३ मिटर उचाइमा छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १०५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलोपटक मकालुको शिखरमा पुगेको उनले बताए ।

मकालु हिमालकै नाममा गाउँपालिकाको नाम राखिएको छ । मकालु महोत्सवको अवसरमा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलनसमेत आयोजना भएको थियो । उक्त साहित्यिक सम्मेलनमा भारतकाे आसामलगायतका विभिन्न क्षेत्रका साहित्यकार तथा कविहरूले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।

गायक–गायिका तथा कलाकारहरूले आ–आफनो गीत–संगीत प्रस्तुत गरेको दक्षिण एसियाली साहित्यिक सांस्कृतिक समितिका अध्यक्ष तथा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । उनले साहित्यमार्फत मकालुको विभिन्न क्षेत्रको उजागार गर्न योगदान पुग्ने बताए ।

आन्तरिक तथा बाह्य पर्यटनको वृद्धिका लागि महोत्सवको आयोजना गरिएको मकालु गाउँपालिकाको भनाइ छ । गत वर्ष महोत्सव आयोजना गरेपछि राजस्व संकलनमा वृद्धि भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनले अघिल्लो आर्थिक वर्षहरूमा एक करोड राजस्व संकलन हुन मुस्किल भएकाे, तर मकालु महोत्सवकै प्रभावले गत आर्थिक वर्षमा करिब एक करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको बताए ।

महोत्सवको अवसरमा आज (बिहीबार) देखि भलिबल प्रतियोगिता सुरु भएको छ । महाेत्सव चार दिनसम्म लाग्नेछ भने संखुवासभाका साथै विभिन्न क्षेत्रका मानिसहरू मकालु पुगेका छन् । महोत्सवले आर्थिक चहलपहलमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ । 

सुझावित समाचार