अमेरिका–युक्रेनबिच खनिज सम्झौता

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोतमाथि पहुँच दिने सम्झौतामा सहमति भएको छ । सम्झौताका महŒवपूर्ण विवरण अझै अस्पष्ट छन् । तथापि, यसका केही विषय भने बाहिर ल्याइएको छ । वासिंटनमा आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । 

५०० अर्ब डलरको क्षतिपूर्तिको मागबाट पछि हट्यो अमेरिका
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमणको प्रतिरोध गर्न गत तीन वर्ष अमेरिकाले युक्रेनलाई अर्बौं डलर सहयोग दिइसकेको छ । ट्रम्प राष्ट्रपतिका रूपमा फर्किएपछि उनले सो सहयोग रकम फिर्ता माग्न थालेका छन् । ट्रम्पले ५०० अर्ब डलर क्षतिपूर्ति मागिरहेका छन् । तर, अमेरिकाले गत तीन वर्षमा करिब १२० अर्ब डलरबराबरको मात्रै सहयोग प्रदान गरेको छ । अर्थात्, ट्रम्पले सहयोग गरेकोभन्दा झन्डै चार गुणा बढी रकम फिर्ता मागिरहेका छन् । 

जेलेन्स्कीले युक्रेनीको ‘दश पुस्ता’ले तिर्नुपर्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताएका छन् । सम्झौताबारे जानकार किभको एक स्रोतलाई उद्धृत गर्दै एएफपीले सम्झौतामा यो माग हटाइएको लेखेको छ । सम्झौतामा अमेरिका र युक्रेनले ‘संयुक्त अमेरिकी–युक्रेनी कोष’मा राजस्व परिवर्तन गरी एकसाथ खनिज स्रोतहरू विकास गर्ने व्यवस्था गरिएको एएफपीले लेखेको छ । युक्रेन भविष्यमा हुने कुनै सम्झौताले रुसबाट पुनः कहिल्यै आक्रमण नहुने सुरक्षा ग्यारेन्टी गर्नुपर्ने कुरामा अडिग छ ।

युक्रेनमा कस्ता खनिज छन् ? 
विश्वको कुल खनिज स्रोतहरूको लगभग पाँच प्रतिशत हिस्सा भएको मानिने युक्रेनले तिनको दोहन गर्न सकेको छैन । केही खनिज रुसले कब्जा गरेको क्षेत्रमा परेको छ । ट्रम्प युक्रेनी भूमिमा रहेको खनिजमाथि नजर लगाइबसेका छन् । वल्र्ड माइनिङ डाटाका अनुसार युक्रेन म्याङनिजको उल्लेखनीय उत्पादक (विश्वको आठौँ ठुलो उत्पादक), टाइटानियम (११औँ) र ग्रेफाइट (१४औँ) हो । यी खनिज तŒव विद्युतीय ब्याट्रीका लागि अत्यावश्यक छन् ।

फ्रान्सको ‘ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बिआरजिएम)’का अनुसार युक्रेनसँग विश्वको ग्रेफाइटको अनुमानित स्रोतको २० प्रतिशत छ । युक्रेनले ‘युरोपको सबैभन्दा ठुलो लिथियम भण्डारमध्ये एक’ भएको पनि बताएको छ । तर, नरम धातु अझै ननिकालिएको सरकारले बताएको छ । किभका अनुसार छवटा भण्डारमा दुर्लभ पृथ्वी धातु रहेको पुष्टि भइसकेको छ । युक्रेनले नोभोपोल्टाभस्के भण्डार विश्वको सबैभन्दा ठुलोमध्ये एक भएको दाबी गरेको छ । यद्यपि, त्यो पाइने मुख्य भागमा रुसी सेनाको नियन्त्रण छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको कब्जामा रहेका क्षेत्रसमेत अमेरिकी लगानीलाई समर्थन गर्ने बताएका छन् । त्यसबाहेक लिथियम, ट्यान्टालम, नियोबियम आदिको भण्डार पोक्रोभस्कनजिकै पर्छ, जुन युद्धको अग्रमोर्चाबाट १० किलोमिटरभन्दा कम दूरीमा छ । 
 

सुझावित समाचार