एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले आन्दोलनको विस्तृत कार्ययोजना बनाउने उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले बताए । पार्टीको आगामी कार्ययोजनाबारे कुनै विवाद नभएको उनको भनाइ छ । ‘प्राप्त सुझावका आधारमा कार्यदलले कार्ययोजनालाई अन्तिम रूप दिन्छ । त्यसपछि आन्दोलनमा जान्छौँ,’ भट्टराईले भने ।
कार्यदल सदस्यमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री छन् । गत १० फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकले प्राप्त सुझावलाई समेटेर कार्ययोजनासहित अन्य दस्ताबेज परिमार्जन गर्ने निष्कर्षसहित पारित गरेको थियो । एकीकृत समाजवादीले रोजगारी सिर्जना र सुशासनको नारासहित देशव्यापी आन्दोलनको तयारी गरेको छ । मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारी सरकारबाटै संरक्षित भएको एकीकृत समाजवादीको ठहर छ । ‘देशमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आन्दोलनको विकल्प छैन । रोजगारीको सिर्जना नभएसम्म गरिबी हट्न सक्दैन । राष्ट्रिय पुँजीको विकास पनि गर्न सकिँदैन । हामी पुँजीवादविरूद्ध जनतालाई जागृत र आन्दोलित गर्दै अगाडि बढ्छौँ,’ भट्टराईले भने ।
भूमाफिया, कालाबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरी सरकार अगाडि बढेको एकीकृत समाजवादीको ठहर छ । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीको विषय पनि एकीकृत समाजवादीले उठाउने भएको छ । राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्नुपर्नेमा भट्टराईले जोड दिए । ‘मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास नभएकाले रोजगारीको उपयुक्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव परेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने तथ्यमा जोड दिँदै यो बैठक राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न आवश्यक छ,’ उनले भने ।