पाँच लाखभन्दा बढीले गरे पशुपतिको दर्शन, १३ लाख भेटी संकलन

गत वर्षभन्दा दुई लाख कम भक्तजन, साधुसन्त पनि आधा घटे

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

शिवरात्रिको अवसरमा २४ घण्टामा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार १४ वटा लाइनबाट प्रतिघण्टा २२ देखि २४ हजार भक्तजनले दर्शन गरेका छन् । तर, यसपालि गत वर्षभन्दा दुई लाख कम भक्तजन पशुपति पुगेका छन् । 

बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान २ बजेसम्म भक्तजनहरूका लागि दर्शन खुला गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बाहिरपट्टि चार र भित्रपट्टि १० लाइनबाट दर्शन गर्ने व्यवस्था थियो । दर्शनका लागि मन्दिरका चारवटै ढोका खुला गरिएको थियो । लाइन धेरै ठाउँबाट लगाइएका कारण भक्तजनलाई सहज भएको कोषका प्रवक्ता अधिकारीले बताए । ‘ठुलो संख्यामा भक्तजनले दर्शन गर्नुभएको छ, गत वर्षभन्दा यस वर्ष अझै व्यवस्थित गरेका छौँ,’ उनले भने, ‘बिहानैदेखि सुरु भएको भक्तजनको लाइन रातिसम्मै थियो । प्रतिघण्टा २२ देखि २४ हजारले दर्शन गर्नुभएको छ ।’

शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन चारवटा बनाइएको थियो । अन्य वर्षमा जस्तै यो वर्ष पनि भक्तजनको भिडभाड थियो । नेपाल तथा दक्षिण एसियाली देशका भक्तजन दर्शनका लागि आएका थिए । यसपटक भारतबाट ३० हजारभन्दा बढी भक्तजन आएको कोषले जनाएको छ । त्यस्तै, मलेसियाबाट दुई सय, इन्डोनेसियाबाट चार सयभन्दा बढी भक्तजन आएका थिए । तर, यसपटक श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स, कतारलगायत देशबाट भक्तजन आएनन् । नेपाल भ्रमणमा रहेका कतिपय पर्यटक पशुपति क्षेत्र पुगेका थिए । 

कोषले विदेशी दर्शनार्थीलाई सकेसम्म छिटो दर्शन गराउने र लाइन लाग्ने नपर्ने गरी प्रबन्धसमेत मिलाएको थियो । तर, नेपाली भक्तजनलाई भने अनिवार्य लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । लाइन लागेको करिब दुई–तीन घण्टापछि दर्शनार्थीले दर्शन गर्न पाएका थिए ।

भक्तजनको अत्यधिक भिडभाडका कारण तिलगंगा, जयबागेश्वरी, गौशाला चोकसम्म लाइन थियो । पशुपति क्षेत्र विकास कोषले भक्तजनको भिड हुने भएकाले बिहीबार बिहान ३ बजेसम्म मन्दिरका ढोका खुला राखिएको थियो । तर, रातिको समयमा पनि भक्तजन दर्शनका लागि लाइन बसेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले शिवरात्रिमा चोरी र अपराधका घटना नभएको बताए । उनका अनुसार नेपाल प्रहरीले पशुपतिपरिसरमा आउने भक्तजनलाई सहजीकरण गरिदिन सूचना केन्द्र पनि राखेको थियो । उक्त सूचना केन्द्रमा दुई सयभन्दा बढी गुनासा र सूचना प्राप्त भएका थिए । सूचनाको आधारमा भक्तजनलाई सहयोग गर्ने कार्य भएको प्रहरीले जनाएको छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरपरिसरमा संकल्प पूजा गर्ने परम्पराअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार देशवासीका नाममा संकल्प पूजा गरेका छन् । दिउँसो ४ः३० बजे मन्दिरपरिसर पुगेका राष्ट्रपति पौडेलले करिब १० मिनेटसम्म पूजा गरे । संकल्प पूजाका क्रममा उनले देशमा शान्ति, समृद्धि र अमनचयनको कामना गरेका थिए । पूजा सम्पन्न भएपछि मन्दिरका मूल पुजारीले राष्ट्रपति पौडेललाई टीका लगाइदिएका थिए ।

महाशिवरात्रिको अवसरमा करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । यद्यपि, भेटी गणना कार्य अझै बाँकी छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको संख्याका आधारमा उक्त अनुमान गरिएको हो । कोषका अनुसार पाँच लाखभन्दा बढी दर्शनार्थीले चढाएको भेटी र दान–दक्षिणा गणना गरी कोषकै नाममा राखिन्छ । प्रवक्ता अधिकारीका अनुसार आइतबारसम्म भेटी गणना सम्पन्न गरिनेछ । मन्दिरमा ठुलो परिमाणमा भेटी संकलन हुने भएकाले कोषले आवश्यक सुरक्षा–प्रबन्ध मिलाएको छ । साथै, भेटी गणना पारदर्शी बनाउन सबै सरोकारवाला पक्षलाई समावेश गरिने बताइएको छ ।

गत वर्षभन्दा कम आए भक्तजन
त्यस्तै, गत वर्ष पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको तथ्यांकअनुसार सात लाख भक्तजनले दर्शन गरेका थिए । तर, यसपटक भक्तजनको संख्यामा केही कमी आएको छ । कोषले यसपटक पनि शिवरात्रिमा करिब सात लाखले दर्शन गर्ने अनुमान गरेको थियो । भारतमा महाकुम्भ मेला चलिरहेका कारण भारतीय र केही नेपाली भक्तजन कम आएको हुन सक्ने अनुमान गरिएको छ । 

साधुसन्तलाई पाँच हजारदेखि सय रुपैयाँसम्म दक्षिणा
गत वर्ष साढे तीन हजार साधुसन्त आएकोमा यसपटक दुई हजार पाँच सयको संख्यामा मात्रै साधुसन्त आएका छन् । यसमध्ये तीन सय नागा बाबा पनि छन् । उनीहरूलाई १६ फागुनमा टीका लगाई दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । साधुको स्तरअनुसार पाँच हजारदेखि सय रुपैयाँसम्म दक्षिणा दिने चलन छ । कोही विशिष्ट साधुसन्तले आफ्नो स्तरअनुसार भेटीसमेत माग गर्छन् । साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्छन् । साधुसन्तलाई ०६८ देखि कोष र संस्थानले भेटी तथा दान–दक्षिणा दिन थालेका थिए । 

सुझावित समाचार