मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा बुधबार प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।
सो क्रममा मुख्यमनत्री आचार्यले प्रदेश सरकार खेल क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन तयार रहेको बताए । उनले बुद्ध रंगशालाको स्तरोन्नति गर्न बाणगंगा नगरपालिकासँग प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।
उद्घाटन कार्यक्रका लुम्बिनी सरकारका पूर्वस्वाथ्यमन्त्री विष्णु पन्थीले प्रतियोगितामार्फत कपिलवस्तुका पर्यटकीय क्षेत्रको समेत प्रवर्द्धनमा जोड पुग्ने बताए । खेल अवधिभर खेलाडीहरूलाई जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने योजना रहेको आयोजको भनाइ छ । प्रतियोगिता १४ देखि २१ फागुनसम्म सञ्चालन हुनेछ ।
आयोजकला कपिलवस्तुलाई हराउँदै संकटाको विजयी सुरुवात
प्रतियोगिताको पहिलो दिन संकटा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई हराउँदै संकटाले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा थप गरिएको २ मिनेटमा गोल गर्दै कपिलवस्तुलाई १–० गोलले पराजित गरेको हो । निकै रोमाञ्चक खेलमा उत्तम शाहीले गोल गर्दै संकटालाई जित दिलाएका हुन् ।
संकटाको जितमा नायक बनेका उत्तम नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । उत्तमलाई युवा व्यवसायी तथा समाजसेवी आशिष शर्माले नगदसहित ट्रफी प्रदान गरेका छन् ।
पराजित भएसँगै कपिलवस्तु–११ प्रतियोगिताबाट बाहिरिएको छ भने संकटा सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार दिउँसो ३ बजे मच्छिन्द्र एफसी र हिमालयन शेर्पाबिच खेल हुने आयोजक जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए।