कपिलवस्तुका शिवमन्दिरहरुमा दर्शनार्थीको भीडभाड

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

हिन्दूहरुको महान पर्व महाशिवरात्रिको अवसरमा शिवको पूजा आराधना गरी देशभर मनाइएको छ। हिन्दू धर्मावलम्बीहरु आज बुधवार विहानैदेखि नदी, कुण्ड, तलाउमा स्नान गरी विभिन्न मन्दिर, शिवालयहरुमा गई भक्तिपूर्वक पूजा आराधना गरेका छन्।

महाशिवरात्रिको अवसरमा कपिलवस्तुको विभिन्न स्थानका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीडभाड लागेको छ । जिल्लाको पश्चिमोत्तर किनारको अग्लो चुरे पहाडको टाकुरामा अवस्थित शिवगढी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। टाढाटाढाका भक्तजनहरु दुई – तीनदिन अघिदेखि नै आउने क्रम जारी रहेको  बताएको छ।

 आफूले चिताएको माग पुग्ने जनविश्वास अनुसार महाशिवरात्रिका दिन उक्त स्थानमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको पाइन्छ ।  पौराणिक धार्मिक स्थल शिवगढीमा सतिदेवीको जिब्रो खसेको किमदन्ती छ । उक्त स्थानमा दर्शन गर्नका लागि कपिलवस्तु लगायत दाङ, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा तथा भारतसम्मका दर्शालु भक्तजनहरु दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताएका छन् । 

त्यस्तै जिल्लाको धानखोला मन्दिरमा समेत दर्शनार्थीहरुको निकै घुईँचो लागेको छ। तीन जिल्ला (कपिलवस्तु, दाङ र अर्घाखांची) को संगमस्थलमा रहेको धानखोला शिवगढी जाने प्रवेशद्वार समेत भएकोले पनि अन्य वर्षको तुलनामा धानखोलामा पूजा आराधना गर्नेको निकै घुईँचो लागेको मन्दिर व्यवस्थापन समितिले बताएको छ भने आज उक्त स्थानमा महाशिवरात्री मेला तथा विविध सांस्कृतिक कार्यक्रम संचालन गरिएको छ । 

सुझावित समाचार