इतिहासमा आज

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

सन् २००१ : तत्कालीन तालिबान सरकारले देशको प्राचीन बौद्ध सम्पदा ‘बामियानको बुद्ध सालिक’मा बम विस्फोट गर्ने निर्णय गर्यो । निर्णय एक महिनाभित्र कार्यान्वयन भयो । 

सन् १६०६ : डच अन्वेषक विलेम ज्यान्सजुन र उनको खोजी दल अस्ट्रेलिया महादेश ओर्लिने पहिलो युरोपेली समूह बन्यो । 

सन् १८१५ : ६ गठबन्धनसँगको युद्धमा हार भोगेपछि एल्बामा निर्वासित नेपोलियन बोनापार्टले आजकै दिन केही समर्थकसहित १०० दिने फ्रान्स फिर्ती अभियान सुरु गरे । यस चामत्कारिक यात्रापछि फ्रान्समा पुनः केही अवधि नेपोलियन शासन फर्किएको थियो । 

सन् १८६९ : अमेरिकी कंग्रेसले संविधानको १५औँ संशोधन पारित गर्यो । यस संशोधनले कुनै पनि नागरिकलाई तिनका नश्ल, रूप वा विगतको दासत्वका आधारमा संघीय सरकार वा राज्यले मताधिकारबाट वञ्चित गर्न नपाउने व्यवस्था गर्यो । 

सन् १८८४ : बर्लिन सम्मेलनमा बेलायत र पोर्चुगलले कंगोमाथिको दाबी त्याग्दै सो क्षेत्र बेल्जियमका राजा लियोपोल्ड द्वितीयलाई दिन सहमति जनाए ।  

सन् १९०९ : अस्ट्रिया–हंगेरी र टर्कीले सम्झौता गर्दै बोस्निया–हर्ज गोभिनामाथिको परस्पर दाबी सल्टाए । सम्झौताअनुसार सो भूमि एक वर्षअघि कब्जा गर्ने अस्ट्रिया–हंगेरीलाई नै दिइयो । त्यसबापत टर्कीलाई २५ लाख टिर्की पाउन्ड आर्थिक क्षतिपूर्ति दिने सहमति भयो । 

सन् १९२१ : सोभियत संघ र इरानबिच एक–अर्काको सार्वभौमिकताको सम्मान गर्ने सम्झौतामा हस्ताक्षर भयो । 

सन् १९२४ : बियर हल कु मुद्दामा एडोल्फ हिटलरविरुद्ध सुनुवाइ सुरु भयो । अप्रिल १ सम्म चलेको मुद्दामा हिटलरलाई पाँच वर्षको जेल सजाय भयो । तथापि, उनी नौ महिनामै रिहा भए । 

सन् १९५२ : ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिलले आफ्नो देशसँग आणविक बम भएको घोषणा गरे । बेलायत अमेरिका र रुसपछि आणविक अस्त्र सम्पन्न तेस्रो देश बन्यो । 

सुझावित समाचार