नेपालले दिगो विकासका लक्ष्य (एसडिजी) प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग वित्तीय तथा प्राविधिक सहयोग बढाउन आग्रह गरेको छ । थाइल्यान्डमा मंगलबारबाट सुरु भएको दिगो विकाससम्बन्धी १२औँ एसिया–प्रशान्त मञ्च (एपिएफएसडी)को वार्षिक बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी पाँच वर्ष सन् २०३० सम्मको दिगो विकास लक्ष्यप्राप्तिका लागि सरकारले योजनासहित काम गरिरहेको, तर अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग बढाउनुपर्ने बताएका हुन् ।
नेपालले दिगो, समावेशी तथा वैज्ञानिक नीति अवलम्बन गर्दै कोही पनि पछाडि नपरोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ थियो । उपाध्यक्ष अधिकारीले १६औँ योजनामार्फत सुशासन, सामाजिक न्याय तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिइएको पनि बताए । ‘रोजगार प्रवद्र्धन, खाद्य प्रणाली सुधार, स्वास्थ्य तथा शिक्षाको रूपान्तरण, लैंगिक समानता, डिजिटल विकास तथा जलवायु कार्यलाई विशेष जोड दिइएको छ,’ उनले भने ।
उपाध्यक्ष अधिकारीले नेपालले जलवायु परिवर्तन, आपूर्ति शृंखला अवरोध, बारम्बारको सरकार परिवर्तन, संघीय प्रणालीमा रूपान्तरणलगायतका बहुआयामिक चुनौतीको सामना गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए । त्यस्तै, एसिया–प्रशान्तका संयुक्त सहर र स्थानीय सरकारको संगठनका अध्यक्षसमेत रहेका काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले स्थानीय तथा क्षेत्रीय सरकार सार्वजनिक सेवा प्रवाह सुधार गर्दै दिगो विकास लक्ष्य तथा राष्ट्रिय विकास रूपरेखासँग समायोजन गर्न प्रतिबद्ध रहेको बताए । उनले दिगो विकासको २०३० सम्मको लक्ष्य पूरा गर्न पाँच वर्ष मात्र बाँकी रहँदा सरकारलाई अझ बलियो बनाउन बहुस्तरीय साझेदारी आवश्यक रहेको उनको भनाइ थियो ।
बैंककमा रहेको संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्र (युएनसिसी)मा एसडिजिएसको प्रगति अनुगमन र समीक्षा गर्न मंगलबारदेखि बैठक सुरु भएको हो । बैठकका मुख्य एजेन्डा सन् ०३० सम्मको लक्ष्य, समावेशी, विज्ञान र प्रमाणमा आधारित समाधान अगाडि बढाउनु रहेका छन् । फेब्रुअरी २८ सम्म चल्ने बैठकमा विभिन्न चरणमा राम्रो स्वास्थ्य र कल्याण, लैंगिक समानता, शिष्ट काम र आर्थिक वृद्धि, पानीमुनि जीवन, लक्ष्यका लागि साझेदारीलगायतका दिगो विकासका लक्ष्यमा छलफल हुनेछ ।