माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानअनुसार ऐन कानुनहरू निर्माण गरेर जनतालाई अधिकारसम्पन्न बनाउन आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बनेरै छाड्ने दाबी गरेका छन् ।
हुलाकी मार्गकेन्द्रित तराई–मधेश जनजागरण अभियानमा सहभागी भइरहेका अध्यक्ष प्रचण्डले बुधबार बिहान विराटनगरमा पत्रकारहरूसँग भेटघाट गर्दै सरकार सञ्चालन गर्नका लागि नभएर संविधानले माग गरेका ऐन–कानुनहरू निर्माण गरेर कार्यान्वयन गराई नागरिकलाई अधिकारसम्पन्न बनाउन माओवादी २०८४ को निर्वाचनमा पहिलो पार्टी बनेरै छाड्ने दाबी गरेका हुन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारहरूलाई भने, ‘ऐन–कानुनहरू निर्माण गरेर कार्यान्वयन नगराएसम्म न त जनताको संघर्ष र बलिदानले प्राप्त भएको संघीय गणतन्त्र दिगो हुन्छ न त नागरिकहरू अधिकारसम्पन्न हुन्छन् । यसैले पनि २०८४ को निर्वाचनमा जनताले माओवादीलाई पहिलो पार्टी बनाएरै छाड्नेछन्, तपाईंहरू हेर्दै जानुहोला ।’
अध्यक्ष प्रचण्डले जनताका मुद्दाहरू आफूहरूसँग मात्रै भएको र समाधान पनि माआवादीले मात्रै गर्न सक्ने भएकाले अब माओवादी पहिलो पार्टी बन्नुको विकल्प नभएको बताए । जनताको मुद्दाहरू दह्रोसँग बोकेकाले नै २०६४ मा माओवादी सबैभन्दा ठुलो पार्टी बनेको स्मरण गर्दै प्रचण्डले अब फेरि माओवादी जनतामा गइसकेकाले पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए ।