धादिङको गल्छी गाउँपालिका– ३ गुप्तेश्वरी मन्दिरमा ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका गजुरी गाउँपालिका– ६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले बताए ।
प्रहरी नायब उपरीक्षक हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरूको ज्यान गएको हो ।
दुर्घटनामा गजुरी गाउँपालिका– ६ का १९ वर्षीय शिरीष चेपाङ र १७ वर्षीय सुरेश चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । ट्यांकरचालक गजुरी गाउँपालिका- ६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।