नेकपा माओवादी केन्द्र उदयपुरले फागुन महिनाभित्र जिल्लाका आठवटै पालिकामा पालिकाका सम्मेलन सक्ने गरी तयारी सुरु गरेको छ । फागुन महिनाभित्र प्रदेश र केन्द्रको परिपत्रअनुसार गाउँपालिका/नगरपालिका सम्मेलन गरिसक्ने गरी तयारी गरेकाे जिल्ला समन्वय समिति माओवादी केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल ‘दिवस’ जानकारी दिए ।
जिल्लाका ७५ वटै वडामा लगभग पार्टीको वडा सम्मेलन सकिएको जानकारी दिँदै उनले अब पालिकाको सम्मेलनको तयारी तयारी सुरु भएको जानकारी दिए । माओवादी केन्द्र प्रदेश १ (कोशी) का सचिवालय सदस्य तथा जिल्ला कार्यालय सदस्य द्रोण पौडेल ‘नीरज’का अनुसार पालिका सम्मेलनका लागि आठवटै पालिकामा जिल्ला नेतालाई जिम्मेवारी दिइएको छ ।
जसमा लिम्चुङबुङको पालिका सम्मेलनका लागि काजीमान तामाङ, झनक घिमिरे, कृष्ण निरौलालाई जिम्मेवारी तोकिएको छ । यसैगरी ताप्ली गाउँपालिकामा विनोद कटुवाल ‘दिवस’, ढुंगराज विकलाई तोकिएको छ । कटारी नगरपालिकामा विनोद कटुवाल ‘दिवस’ हेम दाहाल, भगवती खनाल, केपी बराललाई जिम्मेवारी दिइएको छ ।
यता उदयपुरगढी गाउँपालिकामा नारायण बुर्जामगर, देव गिरी, काजीमान तामाङलाई पालिकाका सम्मेलन गराउन जिम्मेवारी तोकिएको छ । रौतामाई गाउँपालिकामा एविराज राई, खड्गबहादुर मगर, लिलबहादुर परियार छन् । त्रियुगा नगरपालिकामा द्रोण पौडेल, विमल किराँती, सम्झना तामाङ, किरण राई, दिलकुमारी पुलामी मगर, अमृता राई, कमला राई, शैलेन्द्र खतिवडा, दुर्गा बुर्जामगर र यदु ढकाल रहेका छन् ।
चौदण्डीगढी नगरपालिकामा राजन किराँती ‘वासु’ किराँती, देवनारायण चौधरी रहेका छन् । बेलका नगरपालिका राकेश किराँती, रमण भट्टराई र नुनिराम राईलाई पालिका सम्मेलन गराउन जिम्मेवारी दिइएको छ । उनले भने, ‘लिम्चुङबुङ र चौदण्डीगढी नगरपालिकामा फागुन २४ र त्रियुगा नगरपालिकामा फागुन २८ गते तोकिएको छ । अन्य पालिकाहरूकाे मिति थाहा भएन । तर, पालिकाले दोस्रो पालिका सम्मेलन मिति तोकिसकेका छन् ।
माओवादी केन्द्रले उदयपुरका चार गाउँपालिका र चार नगरपालिकामध्ये रौतामाई गाउँपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा अध्यक्ष जितेको छ भने जिल्लाका ७५ वटा वडामध्ये १५ वटा वडाध्यक्ष जितेको छ ।