पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी– तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी– तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चेतावनी दिएका छन्।

झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित पार्टीको एकमहिने तराई–मधेश जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको प्रस्ट पारे।

जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलोपानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए। ‘तानाशाहहरू, प्रतिगामीहरू, सामान्तहरू पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याइराखेका छन्, अपिल गरिराखेका छन्,’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलोपानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरू हिँडिराखेका छन्। खबरदार, त्यो दिवासपना नदेखे हुन्छ। जनता फेरि जाग्नेछन्।’

पुनले काठमाडौंकेन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए। १०औँ हजारको बलिदानले स्थापित व्यवस्थालाई बचाउन र ‘सर्भिसिङ’मार्फत लोकतान्त्रिक गणतन्त्रमा लागेको फोहोर सफा गर्न आफूहरू अभियान लिएर जनतामा आएको उनले उल्लेख गरे।

‘हामीले क्रान्ति सजिलै गरेका होइनौँ। कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र दसाैँ हजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौँ,’ उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन् भने उनीहरले पछुताउनुपर्नेछ।’

पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बलिदानीका लागि पनि आफूहरू तयार रहेको बताए। पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए। ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मूलधारका राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन्।

पुनले दुईतिहाइको दुहाई दिएर सत्तामा बसेका कांग्रेस र एमालेले जनभावनाअनुसार शासनसत्ता सञ्चालन नगरेको आरोप लगाए। जनताको भावनाविपरीत अघि बढे उनीहरूलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए। पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने श्रीलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरूलाई सुझाव दिए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरूले भ्रम छर्ने प्रयास गरेको जिकिर गरे। पञ्चायतको ३० वर्षमा सात हजार किलाेमिटर र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किलाेमिटर सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किलाेमिटर सडक बनेको तथ्यांक प्रस्तुत गरे। सामन्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेशीहरू गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो।

‘संसदीय व्यवस्थामा सातजनाभन्दा बढी महिला संसदमा थिएनन्। अहिले संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सम्भव भएको छ। दलितहरूमाथिको छुवाछुत कानुनतः दण्डित भएको छ,’ पुनले भने, ‘हाम्रो क्रान्तिले जनतालाई मालिक बनाएको छ। राज्यसत्तामा आफ्नो अधिकार लिने हकदार बनाएका छौँ।’

फरक प्रसंगमा पुनले मुकुम्लुङ (पाथीभरा)का आदिवासी समुदायको आवाज नसुनेर सरकारले गोली चलाइरहेको भन्दै आपत्ति जनाए।

सुझावित समाचार