आफ्नोबारे प्रकाशित आलोचनात्मक समाचार सेयर गरेकै कारण ऊर्जामन्त्री दीपक खड्काले दुधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाका सिइओ विमल गुरुङलाई पदमुक्त गर्न ठाडो निर्देशन दिएको विषय संसदमा उठेको छ।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्युतको सिइओ विमल गुरुङलाई कारबाही अथवा निष्कासन हो कि के हो, पत्र सार्वजनिक भएको छ– मन्त्रीको आलोचना गरेको कारणले।’
ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै दुधकोशी हाइड्रोपावर कम्पनीका सिइओ गुरुङलाई हटाउन निर्देशन दिएको छ। पत्रमा गुरुङलाई सामाजिक सञ्जालमा मन्त्रालय र मन्त्री खड्कासम्बन्धी गैरजिम्मेवारीपूर्ण समाचार सम्प्रेषण गरेको आरोप छ।
यसैगरी, सांसद पौडेलले कुलमान घिसिङलाई हटाउने हल्ला चलाइएको भन्दै घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा लगेर घिसिङले कुनै गल्ती नगरेको बताए।
‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ,’ उनले भने, ‘उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले ? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त बनाएर के गरे कुलमानले ? बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’