भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : गगन थापा

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डका चर्चा धेरै हुने गरेको बताउँदै यसको दीर्घकालीन समाधान गर्ने गरी उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने प्रस्ताव गरेका छन् । आइतबार रोल्पाको लिवाङमा कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल पार्न अधिकारसहितको आयोग बनाउनुपर्ने प्रस्ताव गरे । 

‘उच्चस्तरीय आयोग बनाऔँ, पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा हुन्छ या कसको नेतृत्वमा हुन्छ । त्यो आयोगलाई के–के अधिकार दिने हो दिऔँ र अहिलेसम्म प्रधानमन्त्री भएको, हामीजस्तो मन्त्री भएको, मेयर भएको सबको सम्पत्ति छानबिन गरौँ,’ थापाले भने, ‘सम्पत्ति छानबिन गर्दैगर्दा जसले गलत ढंगले सम्पत्ति कमाएको देखिन्छ, तिनको सम्पत्ति पनि खोसौँ र सरकारको ढुकुटीमा राखौँ । अनि जे सजाय दिनुपर्छ दिऔँ ।’ उनले सजाय दिँदा कांग्रेस, एमाले, माओवादी जसको जो परे पनि निष्पक्ष गर्न दिनुपर्ने बताए ।

उनले कांग्रेस यस मामिलामा प्रस्ट भएको बताउँदै कसैले गलत गरेको छ भने त्यसलाई चोख्याउन पार्टीले कुनै भूमिका नखेल्ने बताए । ‘हामी एउटा कुरामा प्रस्ट होऔँ कि हाम्रो पार्टीले कुनै पनि मान्छेले गलत गरेको छ भने त्यसलाई गलत भन्छ । चाहे आफ्नै पार्टीका साथीले गरेको किन नहोस्,’ उनले भने ।

प्रचण्डको चकचकले यो सरकार बन्यो
कांग्रेस महामन्त्री गगन थापाले प्रचण्डको चकचकका कारण अहिलेको सरकार बनाउनुपर्ने स्थिति सिर्जना भएको बताएका छन् । ‘प्रचण्डको चकचकको कारणले गर्दा कांग्रेस र एमालेको सरकार बन्यो । कांग्रेससँग हुँदा चकचक गर्दै एमालेकोमा जानुभयो, फेरि केपी ओली त बेइमान रहेछन् भन्दै कांग्रेससँग भन्न थाल्नुभयो । प्रचण्डको यही चकचकका कारण कांग्रेस–एमालेको सरकार बनाउनुपर्ने स्थिति आयो,’ थापाले भने ।

कांग्रेस र माओवादीको सरकार भएका वेला एमालेका तर्फबाट पचासपटक प्रस्ताव आएको बताए । ‘माओवादीलाई छोड्नुस्, कांग्रेसलाई चाहिएको भए हामी प्रधानमन्त्री दिन तयार छौँ भनेर पचासपटक प्रस्ताव आयो, प्रधानमन्त्रीले संसदमै बसौँ न भन्नुभयो,’ थापाले भने, ‘तर, शेरबहादुर देउवा जानुभएन, बरु भन्नुभयो कि हामीले माओवादीलाई वचन दिएका छौँ ।’ 

कांग्रेस–एमालेको सरकार ०८४ को चुनावसम्म निर्वाध जाने दाबी उनको छ । उनले भने, ‘अब ०८४ सालसम्म हाम्रोतर्फबाट कुनै पनि चकचक हुँदैन । कुनै पनि उपद्रो हुँदैन । जुन दिनसम्म एमालेले सरकार चलाउने सहमति भएको छ त्यो दिनसम्म कांग्रेस चुपचाप बस्छ र जुन दिन कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ, त्यस दिन एमालेले इमानदारीपूर्वक नेतृत्व हस्तान्तरण गर्छ भन्ने अपेक्षा गर्छौँ । यो तीन वर्षमा सरकार बनाउने, ढाल्ने खेलमा लाग्दैनौँ ।’ 

सरकार सञ्चालन प्रभावकारी हुनुपर्ने भन्दै थापाले कांग्रेसले जितेका कुनै पनि क्षेत्र टाढैबाट हेर्दा अलग्गै चिनिने हुनुपर्ने बताए । उनले कांग्रेसले जितेको ठाउँमा ०८४ सालमा घोषणापत्र होइन, रिपोर्ट कार्ड लिएर जानुपर्ने बताए । ‘हामीले घुस खाएनौँ, सीमित स्रोतसाधनका बाबजुद पनि यो यो गर्याैँ भनेर रिपोर्ट कार्ड लिएर जनतामा जाने हो,’ थापाले भने, ‘कांग्रेसले जितेको ठाउँमा हाम्रो कामले भोट दिने वातावरण बनाउने हो ।’

सुझावित समाचार