हतारमा कार्यविधि बनाएर नेप्सेमा सिइओ नियुक्तिका लागि समिति गठन

विषयविज्ञलाई नियुक्ति गर्नुपर्ने प्रावधान भएको कार्यविधि खारेज गरेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आफ्नालाई नियुक्ति गर्न लागेको’ विषय बाहिरिएपछि अर्थ मन्त्रालयले आइतबार बेलुकासम्म नयाँ कार्यविधि बनाएर सोमबार सिइओ नियुक्तिका लागि आवेदन माग्दै

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । समिति संयोजकमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल छन् भने अर्थकै सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल सदस्य छन् । खरेललाई विज्ञ सदस्यका रूपमा राखिएको हो । विषयविज्ञलाई सिइओ नियुक्ति गर्ने प्रावधान भएको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, ०७४’लाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेर ‘आफ्ना मान्छे’लाई नियुक्ति दिने तयारी गरेका थिए । 

नेप्सेसहित धितोपत्र बोर्ड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी प्रमुख र पदाधिकारी नियुक्ति गर्ने कार्यविधि २९ माघमा खारेज गरेको विषय सार्वजनिक भएर विवाद बढेपछि अर्थ मन्त्रालयले हतारमा आइतबार बेलुकासम्म नेप्से सिइओ नियुक्ति गर्ने नयाँ कार्यविधि बनाएको छ । सोही कार्यविधिअनुसार सम्भवतः सोमबार सिइओ नियुक्तिको सूचना निकाल्ने अर्थको तयारी छ ।

अर्थका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेप्सेमा सिइओ नियुक्तिका लागि नयाँ कार्यविधि तयार पारेकाले सोहीअनुसारको मापदण्ड तोकेर सूचना निकाल्ने बताए । ‘सकेसम्म सोमबार नै नेप्सेको सिइओ नियुक्तिका लागि आवेदन खुलाउने र कार्यविधि पनि सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।

खुला प्रतिस्पर्धाका माध्यमबाट सिइओ नियुक्ति गर्न खोजिए पनि अर्थमन्त्री पौडेलले नेप्सेमा आफ्ना मान्छेलाई नियुक्ति दिन जोडबल गरिरहेको स्रोतको भनाइ छ । नयाँ कार्यविधिको मापदण्ड पनि मिलेमतोमा बनाइएको स्रोतको दाबी छ । नेप्सेमा तत्कालीन सिइओ कृष्णबहादुर कार्की चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि उक्त पद २५ माघदेखि खाली छ ।

एक सातायता नेप्से निरन्तर वृद्धि
सेयर बजार परिसूचक नेप्से एक सातायता निरन्तर वृद्धि भइरहेको छ । गत साताको आइतबारदेखि उकालो लाग्न थालेको नेप्से परिसूचकले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पायो । यो अवधिभर पाँच कारोबार दिनमा परिसूचक ७६.९३ अंकले बढेको हो । गत साता आइतबार परिसूचक १९.५६ अंकले (०.७३ प्रतिशत) बढेर २६९८.४७ विन्दु पुगेको थियो ।

सोमबार २९.८७ अंक (१.१ प्रतिशतले) बढेर २७२७.९१ विन्दुमा पुगेको हो । त्यस्तै, मंगलबार १२.६८ अंक (०.४६ प्रतिशत)ले र बिहीबार ३.१४ अंक (०.११ प्रतिशत)ले बढेको थियो । आइतबार ११.६६ अंक (०.४२ प्रतिशत)ले बढेर २७५५.४ विन्दुमा पुगेको छ । पाँच कारोबार दिनमा सबैभन्दा बढी कारोबार आइतबार (११ फागुनमा) भएको छ । यस दिन ११ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रो ठुलो कारोबार गत मंगलबार १० अर्ब ३७ करोडको भएको थियो । 

नेप्से परिसूचक २९ माघयता नै बढ्न थाले पनि १ फागुनमा झिनो अंकले घटेको थियो । २९ माघमा ६.५४ अंकले बढेको नेप्से ३० माघमा १.८६ अंकले बढेको थियो । यद्यपि, १ फागुनमा परिसूचक ७.२६ अंकले घटेको थियो । आइतबारको कारोबार बैंकिङ, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, निर्जीवन बिमा र अन्य समूहका परिसूचक बढेका छन् । विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त समूह र व्यापार समूहको परिसूचक घटेको छ । 

सुझावित समाचार