अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड

‘९एन–एकेडब्लू’ जहाज सि–चेकका लागि करिब दुई महिनादेखि चीनमा शनिबार साउदीको दमाममा अवतरण भएको ‘९एन–एकेएक्स’ जहाज पनि नोज ल्यान्डिङ गियर बिग्रिएर ग्राउन्डेड

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सका दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड भएका छन् । जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित भएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबार साउदीको दमाम विमानस्थलमा अवतरण भएको ‘९एन–एकेएक्स’ जहाजको नोज ल्यान्डिङ गियर बिग्रिएको थियो । त्यसपछि मर्मतका लागि सो जहाज दमाममै ग्राउन्डेड गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘जहाज चेकजाँचका क्रममा नोज ल्यान्डिङ गियरमा हाइड्रोलिक लिक भएको भेटियो । त्यसैले मर्मतका लागि दमाममै जहाज राखिएको छ,’ उनले भने ।

सो जहाज अचानक ग्राउन्डेड हुँदा दमाम–काठमाडौंका लागि टिकट लिएका यात्रु भने अलपत्र परेका छन् । प्रवक्ता पौडेलले तत्काल जहाज बनाएर यात्रु ल्याउने योजना रहेको बताए । जहाज तत्काल मर्मत नभए अन्य जहाजमार्फत यात्रुहरूलाई काठमाडौं ल्याइनेछ ।अर्को न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज सम्पूर्ण मर्मत (सि–चेक)का लागि करिब दुई महिनादेखि चीनमा छ । २० पुसदेखि ग्राउन्डेड भएको जहाजको मर्मत कार्य चलिरहेको निगमले जनाएको छ ।

नियमित मर्मत अभावमा निगमका जहाज ग्राउन्डेड भइरहने पुरानै रोग हो । अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ ।

ग्राउन्डेड भएका जहाज मर्मत गर्न बेवास्ता गर्ने भएकाले ढिलो गरी उडान सेवामा फर्कने गरेका छन् । तर, यसपटक ग्राउन्डेड भएका दुवै न्यारोबडीलाई छिटो मर्मत सकेर नियमित उडानमा ल्याउने निगमले दाबी गरेको छ । ‘दमाममा पार्क गरिएको जहाज–मर्मतका लागि सम्बन्धित कम्पनीसँग कुरा भइसकेको छ । चाँडै मर्मत सकेर उडान सेवामा फकाईहाल्छौँ,’ प्रवक्ता पौडेलले भने ।

जहाज छिट्टै उडानमा ल्याउन प्रयासरत छौँ
जहाज निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप नेपाल वायुसेवा निगमका जहाज नियमित मर्मत–सम्भार गर्ने गरिएको छ । यसका बाबजुद पनि कहिलेकाहीँ जहाजमा आकस्मिक प्राविधिक समस्या आउन सक्छन् । एकेएक्स न्यारोबडी जहाज दमाम–काठमाडौं सेक्टरको उडान गर्नुपूर्व गर्नुपर्ने चेकजाँचका क्रममा नोज ल्यान्डिङ गियरमा प्राविधिक समस्या देखिएकाले त्यहीँको मेन्टेनेन्स अर्गनाइजेसनसँग सहकार्य गरी समाधान गर्ने काम भइरहेकाले मर्मतपश्चात् सकेसम्म छिटो उडानमा ल्याउन लागिपरेका छौँ । दमामबाट काठमाडौँ उडानका लागि टिकट काटिसकेका यात्रुलाई चाँडै ल्याउने विषयमा हामी गम्भीर छौँ । चीनमा मर्मत भइरहेको जहाज पनि चाँडै उडान सेवामा फर्कनेछ ।

फागुनमै चीनबाट आउनुपर्ने  जहाज मर्मतको पैसा नदिँदा उतै अड्कियो
२० पुसमा चीन पठाएको एकेडब्लू जहाज मर्मत गरेको पैसा दिन नसक्दा उडानमा फर्काउन नसकिएको स्रोतको भनाइ छ । ‘मेन्टेनेन्स रिपेयर ओभरहल (एमआरओ) कम्पनीलाई भुक्तानी हुन नसक्दा जहाज चीनमै रोकिएको छ,’ स्रोतले भन्यो, ‘७ फागुनमै जहाज मर्मत कार्य सकिएको छ । ९ फागुनबाट जहाज ल्याएर उडान सेवा सुचारु गर्ने योजना थियो, तर मर्मत गर्ने कम्पनीलाई भुक्तानी नदिँदा उतै रोकिएको छ ।’ एकेडब्लूको मर्मत चाइना साउर्दन एयरलाइन्सले गरेको छ । समयमै मर्मत कम्पनी छनोट गरी सि–चेकमा पठाउन नसक्दा यो जहाज नेपाल र चीनमा गरी ५० दिनभन्दा बढी ग्राउन्डेड भइसकेको छ ।

 दुवै ट्विनअटर बिग्रेकाले आन्तरिक उडान ठप्प
तुम्लिङटार, दाङ, रेसुंगा, रुकुम पश्चिमलगायत दुर्गमका जनतालाई सेवा दिने गरी आन्तरिक उडान गर्दै आएका निगमका दुईवटै ट्विनअटर जहाज ग्राउन्डेड छन् । जसकारण आन्तरिक उडान ठप्प छ । समयमै इन्जिन व्यवस्थापन गर्न नसक्दा ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड भएर बसेका छन् । इन्जिन फेरेर दुवै जहाजलाई नियमित उडानमा फर्काउन निगम व्यवस्थापनले पनि चासो दिएको छैन ।

सुझावित समाचार