नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई ३ प्रश्न

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

मादक पदार्थको सेवनले समाजमा  के–कस्ता समस्या बढिरहेका छन् ?
सामान्यतः मादक पदार्थको सेवनले दुई किसिमका समस्या बढिरहेका देखिन्छन् । पहिलो हो, घरेलु हिंसा । मापसे गर्ने व्यक्तिबाट सबैभन्दा पहिले घरपरिवारका सदस्य नै बढी प्रताडित भइरहेका देखिन्छन् । यसका साथै, छरछिमेकी पनि यसबाट धेरथोर प्रभावित देखिन्छन् । अनि, मापसेका कारण सवारी दुर्घटना पनि बढिरहेका छन् । त्यसमा हामीले कडाइ गरिरहेका छौँ । यसबाहेक अन्य अपराधका घटनामा मापसे एउटा कारण भए पनि त्यसका पछाडि अन्य विभिन्न कारण जोडिएका हुन सक्छन् । सबै अपराधमा मापसे नै मुख्य कारण हो भनिहाल्न मिल्दैन । 

यसको न्यूनीकरणको प्रयास कसरी भइरहेको छ ?
मादक पदार्थको सेवन मुख्यतः सामाजिक समस्या हो । हामीले कसैलाई मापसे नगर्नुस् भन्न मिल्दैन । तर, मापसे गरेर सवारी साधन नचलाउनुस् भन्नचाहिँ मिल्छ । त्यसैले, हामीले ठाउँठाउँमा टोली खटाएर मापसे परीक्षण गराउँदै आएका छौँ । मापसे गरेको पुष्टि भएमा सवारी साधन चलाउन दिएका छैनौँ । यसको न्यूनीकरणका लागि दबाबभन्दा पनि सामाजिक जागरण र सचेतनाले सकारात्मक प्रभाव पार्न सक्छ । 

यसको न्यूनीकरणका लागि कानुनी व्यवस्था र सामाजिक जागरणको पाटो कस्तो छ ?
कानुनतः मापसे गर्नु अपराध होइन । त्यसलाई हामीले रोक्न सक्दैनौँ । मापसेकै कारण कुनै अपराध गरेमा मात्र हामीले पक्राउ गरी कानुनी कारबाही गर्ने हो । त्यसैले, सामाजिक चेतना अभिवृद्धि गर्नु नै मापसे न्यूनीकरणको महत्वपूर्ण पाटो हो । हामीले मापसे गरेर गरिने ड्राइभिङमा कडाइ गरेका छौँ । समुदाय–प्रहरी साझेदारीमार्फत विभिन्न संघसंस्थामा गएर मापसेविरुद्ध जनचेतना जगाउने प्रयास गर्दै आएका छौँ । यसमा हामीलाई सामाजिक संघसंस्था र सामाजिक अगुवाहरूको पनि साथ र सहयोगको खाँचो छ । 

सुझावित समाचार