प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ‘राष्ट्र जोगाउन आफूलाई साथ दिन’ गरेको आह्वानप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले गणतन्त्रविरुद्धको अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले शक्तिमा फर्कन चाहे आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई चुनौती दिए ।
राष्ट्रिय सभा बैठकमा सदस्य वामदेव गौतमले पूर्वराजा शाहलाई शासन चाहिए चुनावमा जनताको मन जितेर आउन सुझाव दिए । ‘आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्,’ उनले भने, ‘०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्नुस् । नेपालको चौतर्फी विकास र समृद्धि गरेर देखाइदिनुस् ।’
प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नआएको र नागरिक शक्तिको बलमा आएको लोकतन्त्रको विकल्प अरू हुन नसक्ने बताइन् । ‘गणतन्त्रमा भएका गल्तीहरू विधिबाट सच्याएर तथा विधिहरू थप पारदर्शी र कसिलो बनाएर जान सकिन्छ,’ उनले भनिन्, ‘तर, कुनै बहानामा गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । पूर्वराजाले फेरि सत्तामा फर्किन खोज्नु, आफ्ना समर्थकलाई त्यसमा साथ दिन आह्वान गर्नु र पक्षधरले साथ दिनु कुनै आश्चर्य भएन । आफ्ना भनाइ राख्दै गर्दा त्यति कुरा भन्न पनि लोकतन्त्रले नै दिएको हो भन्ने बिर्सनुभएन ।’
सांसद न्यौपानेले सत्तामा आउन चाहे चुनाव लड्न सुझाव दिइन् । ‘सत्तामा नै फर्किने चाहना हो भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन्, ‘पूर्वराजा र समर्थकलाई सुझाव छ– कहिले पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने भाष्य नबनाउन सत्तापक्षलाई चेतावनी दिए । ‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुइ चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौँ । त्यसको विरुद्धमा हुन्छौँ,’ उनले भने । राप्रपाका ज्ञानबहादुर शाहीले पूर्वराजाको अभिव्यक्तिको आलोचना गर्ने नैतिक आधार कांग्रेस र एमालेसँग नभएको टिप्पणी गरे । ‘माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खायै गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ राजाको विरोध गर्न पाइँदैन,’ शाहीले भने ।
एमालेका गोकुल बाँस्कोटाले विगतजस्तै निरंकुश शासनका लागि राजा फर्काउन खोजेको हो ? भनेर सोधेका थिए । ‘के गर्न राजा फर्काउने ? केका लागि राजतन्त्र फर्काउने ?’ बाँस्कोटाले भने । पछिल्लोपटक पूर्वराजा ज्ञानेन्द्रको भ्रमणका वेला पोखरामा भएको प्रदर्शन स्मरण गर्दै बाँस्कोटाले कटाक्ष गरे, ‘राजा फर्काउन पोखरामा त्यत्रो जुलुस गर्नुपर्छ ? धेरै दुःख गर्नुपर्दैन । एउटा प्लेन टिकट काटिदिनुस् काठमाडौं फर्किहाल्नुहुन्छ । सिंहासनमा फर्किन सम्भव छैन ।’ एमालेका ईश्वर रिजालले राज्यशक्तिको स्रोत कसैको कोखमा नभई जनताको भोटमा हुने बताए । ‘एकपटक बिदाइ गरेको हुकुमीतन्त्रलाई जनताले अर्काेपटक लिँदै लिँदैनन्,’ उनले भने ।
सम्पत्ति शुद्धीकरण ग्रे लिस्ट
प्रतिनिधिसभामा सांसदहरूले सम्पत्ति शुद्धीकरणमा नेपाल नकारात्मक अर्थात् ग्रे सूचीमा परेको विषय उठाएका छन् । माओवादीका माधव सापकोटाले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक रूपमा सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको बताए । ‘सरकारको त कुनै विश्वास रहेन नै । सिंगो देशको मान, प्रतिष्ठा र इज्जतका खातिर विशेष महŒवका साथ लिएर प्रतिनिधिसभा गम्भीर बनोस्,’ उनले भने ।
कांग्रेसका अर्जुननरसिंह केसीले ग्रे लिस्टले नेपाललाई झन् अप्ठ्यारोमा पु¥याएको र यो मामिलामा संसद्मा गम्भीर छलफल हुनुपर्ने बताए । ‘यस्तो प्रवृत्ति नदोहोरिनका लागि हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरौँ,’ उनले भने ।
रास्वपाका असिम शाहले अमेरिकाबाट प्राप्त अनुदान दुरुपयोग गरेर ठगी गरिएको भन्दै बृहत् छानबिनको माग गरे । रास्वपाकै चन्दा कार्की भण्डारीले शासकीय सुधारका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने माग गरिन् ।
सत्तारूढ नेतामाथि छानबिनको माग
प्रतिनिधिसभाको विशेष समयमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगीमा सरकारले सत्तारूढ दलका नेता जोगाइरहेको भन्दै आपत्ति जनाएका थिए । ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौँ त्यसपछि थाहा हुन्छ । अनि तथ्यले प्रमाणित हुनेछ,’ उनले भने । अर्यालले आफ्नो पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको, तर सत्तारूढ नेतामाथि छानबिन नहुने प्रवृत्ति नै रहेको बताए ।
माओवादीका देवेन्द्र पौडेलले भूमि अध्यादेशको नियतमा प्रश्न उठाए । ‘सुकुम्बासीहरूलाई जग्गा दिने हो भने खोला, खोल्सा र वनको जग्गा मास्न आवश्यक छैन । बरु गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्बासीलाई दिइयोस्,’ उनले भने ।
केआइआइटी विश्वविद्यालय
एमालेका पदम गिरीले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अझै पनि नेपाली विद्यार्थीले असुरक्षित महसुस गरिरहेको बताए । एमालेकै रघुजी पन्तले घटनापछि विभिन्न नाकाबाट नेपाल फर्केका पाँच सय विद्यार्थी आतंकित अवस्थामा रहेको भन्दै फर्काउन र सुरक्षित शैक्षिक वातावरण बनाउन सरकारले ठोस पहल गर्नुपर्ने बताए ।
कुलमान हटाउने प्रयासको विरोध
माओवादीका अमनलाल मोदीले जनताको पक्षमा काम गरिरहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेर सरकारले बर्खास्तको प्रयास गरिरहेको बताए । ‘सरकारले राम्रो काम त सकेन–सकेन, राम्रो काम गर्नेलाई पनि हटाइरहेको छ, बर्खास्त गरिरहेको छ । यदि यसो हो भने प्रमुख प्रतिपक्षी सरकारको प्रतिरोध गर्नेछ । म सचेत गराउन चाहन्छु,’ उनले भने ।