ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै  ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध एपीले मुद्दा दायर गरेको हो । मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरी लेभिटले भनिन्, ‘हामी यसलाई अदालतमा नै सामना गर्नेछौँ ।’

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि वासिंटन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मा दिइएको छ ।

एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले समाचार  नियन्त्रणका लागि गरेको असंवैधानिक कदमविरुद्ध रहेको बताएको छ । विल्स, बुडोविच र लेभिटविरुद्ध दायर गरिएको मुद्दामा एपीले भनेको छ, ‘प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसलाई आफ्नै शब्द छनोट गर्ने अधिकार छ, सरकारले प्रतिशोध नलिइयोस् ।’ अदालतले मद्दाबारे तत्काल टुंगो लगाउनुपर्ने निवेदनमा उल्लेख छ । संविधानको पहिलो संशोधनले प्रेस, वाक् र धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ र सरकारलाई तीमध्ये कुनै पनि अवरोध गर्न रोक्छ ,’ एपीले भनेको छ ।

ह्वाइट हाउसबाट कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा उपस्थित हुने क्रममा आफूले मुद्दाबारे थाहा पाएको प्रेस सेक्रेटरी लेभिटले बताइन् । उनले भनिन्, ‘म ह्वाइट हाउसको सल्लाह लिन चाहन्थेँ । मुद्दाको चरणमा पुग्नुअघि म के भन्न सक्छु, के भन्न सक्दिनँ भनेर हेर्न चाहन्थेँ । तर, मलाई लाग्छ हामी सही छौँ । हामी यो सुनिश्चित गर्न गइरहेका छौँ कि सत्य र सटिकता ह्वाइट हाउसमा हरेक दिन उपस्थित छ ।’

यसअघि, राष्ट्रपति ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी संगठन’को संज्ञा दिएका थिए । मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई एपीले राष्ट्रपति ट्रम्पले भनेजस्तो गरी व्याख्या नगरेपछि एपीविरुद्ध उक्त आरोप लगाएका थिए । ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’को संज्ञा दिएका थिए । तर, एपीले उनको आदेशबमोजिम ‘गल्फ अफ अमेरिका’ नलेखेपछि कार्यकारी आदेश पालना नगरेसम्मका लागि भन्दै एपीका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए । ह्वाइट हाउसले एपीका पत्रकारलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोक लगाएको छ ।

बिहीबार राजधानी वासिंटनमा रिपब्लिकन गभर्नर्स एसोसिएसनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी संगठन’ हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।’

उनले सम्भावित कानुनी कारबाहीबारे उल्लेख नगरी अगाडि भने, ‘हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ । मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन् र सायद उनीहरूले जित्नेछन्, फरक पर्दैन । यो केवल यस्तो कुरा हो, जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्छौँ ।’
 

See More On

सुझावित समाचार