पाँच लाख २२ हजार विद्यार्थी एसइई दिँदै

गत वर्षको तुलनामा परीक्षार्थी बढे, परीक्षा केन्द्र घटे

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण
पाँच लाख २२ हजार विद्यार्थी एसइई दिँदै

०८० को एसइईमा सहभागी विद्यार्थी

७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन पाँच लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले एकीकृत गरेको तथ्यांकअनुसार नियमिततर्फ चार लाख ७० हजार र ग्रेडवृद्धितर्फ ५२ हजारले फारम भरेका हुन् । तर, विभिन्न कारणले परीक्षामा सहभागिता संख्या केही घट्न सक्ने विगतका अनुभवले देखाउँछ । गत वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थीले फारम भरेकामा चार लाख ७५ हजार २९८ मात्रै परीक्षामा सहभागी भएका थिए । 

७७ वटै जिल्लाबाट संकलन गरिएको एकीकृत तथ्यांकअनुसार यसपालि गत वर्षभन्दा १७ हजार ५८६ बढी अर्थात् पाँच लाख २२ हजार विद्यार्थीले फारम भरेको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले जानकारी दिए । तर, विद्यार्थी संख्या बढ्दा परीक्षा केन्द्र भने गत वर्षको भन्दा ३० कम राखिएको छ । गत वर्ष दुई हजार ६४ परीक्षा केन्द्र तोकिएकामा यसपालि दुई हजार ३४ मात्रै राख्ने निर्णय भएको छ । 

विष्णु ज्ञवाली, डेपुटी कन्ट्रोलर, परीक्षा बोर्ड
गत वर्ष परीक्षा केन्द्र धेरै थिए, तर केन्द्रमा विद्यार्थी संख्या कम थियो । यसपालि हरेकमा २५० विद्यार्थी पुग्ने गरी केन्द्र तोकेका छौँ ।

गत वर्ष हरेक केन्द्रमा तोकिएअनुसार विद्यार्थी नभएकाले यसपालि हरेकमा २५० विद्यार्थीले परीक्षा दिने गरी व्यवस्थापन भएकाले केन्द्रको संख्या कम गरिएको ज्ञवालीले बताए । ‘गत वर्ष परीक्षा केन्द्र धेरै थिए, तर केन्द्रमा विद्यार्थी संख्या कम थियो । यसपालि हरेकमा २५० विद्यार्थी पुग्ने गरी केन्द्र तोकेका छौँ,’ उनले भने ।

काठमाडौंमा हरेक वर्ष सबैभन्दा बढी परीक्षा केन्द्र रहन्छन् । यसपटक पनि झन्डै १३० परीक्षा केन्द्र काठमाडौंमै रहनेछन् । मनाङ र मुस्ताङमा विद्यार्थी कम हुने भएकाले केन्द्र संख्या पनि कम हुन्छ । 

बोर्डले यसपटकको एसइई परीक्षामा ३० हजार सुरक्षाकर्मीसहित कुल ७५ हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीबाहेक केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा सबै जनशक्ति गरी कम्तीमा ४० जना खटिनेछन् । सुरक्षा संवेदनशील केन्द्रमा भने योभन्दा बढी जनशक्ति परिचालन गर्न सकिने अध्यक्ष शर्माले बताए । 

यसपटक फरक तरिकाबाट प्रश्नपत्र निर्माण
एसइई सुरु हुन अब एक महिना मात्रै बाँकी छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार सबै प्रश्नपत्र पनि तयार भइसकेका छन् । छपाइ सकेर प्याकिङको काम भइरहेको, केही दिनमै प्रदेश हुँदै स्थानीय तहमा पुर्‍याइने र परीक्षाको मितिअनुसार परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने उनले बताए ।

बोर्डले प्रश्नपत्र निर्माण गर्दा 
पनि यसपालि फरक तरिका अपनाएको छ । यसअघि सबै प्रश्नपत्र केन्द्रबाटै तयार पारिन्थ्यो । यसपालि भने प्रदेश तहबाट पनि शिक्षकले निर्माण गरेको प्रश्नपत्र तयार पारिएको छ । केन्द्र र प्रदेश तहबाट आएका प्रश्नहरू काँटछाँट गरेर अन्तिम रूप दिइएको अध्यक्ष शर्माले बताए । बोर्डले परीक्षा सञ्चालन र प्रश्नपत्र निर्माणका लागि एक महिनाअघि नै शिक्षकहरूलाई तालिमसमेत दिएको थियो । शर्माका अनुसार परीक्षा सकिएपछि उत्तरपुस्तिका पनि प्रदेशहरूमा जाँच र सम्परीक्षण गरिनेछ । 

केन्द्र र प्रदेशको समन्वयमा परीक्षा सञ्चालन
एसइई परीक्षा सञ्चालन पनि केन्द्र र प्रदेशको समन्वयमा हुँदै छ । प्रश्न र उत्तरपुस्तिकाको हकमा केन्द्रले तयारी गर्ने र अन्य तयारी प्रदेशले गर्नेछ । बोर्ड अध्यक्ष शर्माका अनुसार प्रश्नपत्र तयार पार्ने, ढुवानी गर्ने, तथ्यांक अद्यावधिक गर्ने र नतिजा प्रकाशनको काम बोर्डले गर्छ भने अन्य काम प्रदेश तहलाई बाँडिएको छ । 

‘प्रश्नपत्र पठाउने जिम्मा बोर्डको हो, अन्य काम प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्छ, आफ्नो प्रदेशमातहत रहेका विद्यालयमा समन्वय गर्ने, केन्द्रहरूमा उत्तरपुस्तिका उपलब्ध गराउने तथा संकलन गर्ने, जिल्ला परीक्षा समन्वय समिति बनाउने र प्रश्नोत्तर परीक्षण गराउनेसम्म प्रदेशले नै गर्छ,’ उनले भने, ‘तथ्यांक विश्लेषण गरेर नतिजा केन्द्रले निकाल्छ । परीक्षाको वेला बोर्ड र प्रदेश मिलेर अनुगमनलगायतका काम पनि गर्छन् ।’

See More On

सुझावित समाचार