नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडाैंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ। भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका १२३ पालिकाका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको सहभागिता रहनेछ। माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमुना पालिका बनाउने लक्ष्य लिएको छ।
भेलामा निर्धारित राष्ट्रिय सूचकांकमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षले आ–आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ। भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ।
स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ। माओवादीले यसअघि स्थानीय तहको निर्वाचनलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो।