पाथीभरा केबलकार निर्माण विवाद : गृह मन्त्रालयद्वारा ‘नो केबलकार’ समूहलाई वार्तामा आउन अपिल

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा केबलकारको विषयलाई लिएर भएको आन्दोलनकर्ता ‘नो केबलकार समूह’लाई पुनः वार्तामा आउन गृह मन्त्रालयले आह्वान गरेको छ । गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै गत माघ १० गते गठित  वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आन्दोलनरत समूहलाई वार्तामा आउन पुनः आग्रह गरेका छन् ।

मन्त्रालयले गठन गरेपछि वार्ताटोलीले ‘नो केबलकार’ समूहसँग मंसिर २२ गतेदेखि भएको वार्ता ६ बुँदे सहमति भएपश्चात् पुनः २७ बसेको थियो । सो वार्ता विनानिष्कर्ष टुंगिएपछि आन्दोलनकारीले आन्दोलनको घोषणा गरेका थिए । 

सहसचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको समाधानका लागि गम्भीर भई वार्ता एवं संवादमा आउन वार्ता समिति हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा पाथीभरा मुक्कुमलुङ क्षेत्रमा देखिएको समस्याबारे शान्तिपूर्ण समाधानका लागि टोली सक्रिय रहेको बताइएको छ ।

गृह मन्त्रालयका अनुसार वार्ता समिति पदाधिकारीले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने सर्त राखेका छन् । तर, गृहमन्त्री लेखकले राजनीतिक नेतृत्वबाट वार्ता नहुने भन्दै समितिलाई नै विवाद टुंग्याउन आदेश दिएको बताइएको छ । 

ताप्लेजुङमा रहेको पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयलाई लिएर पछिल्लो समय तनाव चुलिँदै जानुका साथै लिम्बूहरूको मुक्कुम्लुङ पाथीभरामा एक तीर्थस्थल मासिने भन्दै त्यहाँका लिम्बू समुदायले ‘नो केबलकार’ पक्षले आन्दोलन गरिरहेका छन् ।  

बिहीबार प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा  सात राउन्ड अश्रुग्यास प्रहार हुनुका साथै १३ जना घाइते भएका थिए । जसमा जनपथ प्रहरीतर्फ ६ जना घाइते भएको र सशस्त्र प्रहरीतर्फ पाँचजना सुरक्षाकर्मी घाइते भएका थिए । त्यस्तै, एक गाडी तोडफोड हुनुकाे साथै चालक सख्त घाइते भएका थिए । 

सुझावित समाचार