अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री ओली

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट पारेका छन्।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही साथीहरूले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे।

‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन्। त्यो हामीले खुलायौँ। अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खलबल्याउने र सामाजिक सदभाव भड्काउने काम स्वीकार्य हुन सक्दैन। चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नुहुँदैन। आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नुहुँदैन।’

प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैंकमा पैसा राख्यो भन्नेजस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, ‘मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो। मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन। मेरो सबै जीवन खुला र पारदर्शी छ। यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन।’

उनले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटोछरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गरे।

सुझावित समाचार