कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाटलाई

अन्तरप्रदेश लिगमा गाईघाटसँगै देउराली छनौट

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाटले जितेको छ। बिहीबार धरान रंगशालामा भएको खेलमा पाँचथरलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले उपाधी जितेको हो।

उपाधीसँगै टोलि राष्ट्रिय लिगको छनौट प्रतियोगिताको रुपमा रहेको अन्तर प्रदेश लिगमा छनौट भएको छ। त्यस्तै प्रदेश लिगमा दोस्रो स्थानमा रहँदै धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेशलिगमा छनौट भएको छ।

कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरु सम्मिलित कोशी प्रदेश प्रिमियर लिगमा ११ क्लबलाई ४ समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको थियो।

फाइनल चरणमा सात अंक प्राप्त गरेको गाईघाट लिग च्याम्पियन हुँदा धनकुटाको देउराली युथ क्लब ४ अंकसहित दोस्रो तथा समान ४ अंक भए पनि गोल अन्तरले खोटाङको बुइपा–११ तेस्रो स्थानमा रह्यो। धनकुटाको गोल अन्तर ५ रहेको छ भने बुइपाको गोल अन्तर शून्य छ। त्यस्तै पाँचथर युनाइटेड क्लब १ अंकसहित चौथो स्थानमा रह्यो।

उपाधि विजेता गाईघाटले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो भएको देउरालीले १ लाख ५० हजार, तेस्रो भएको बुइपाले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ।

यसैगरी, गाईघाट फुटबल क्लबका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निम छिरिङ लामा घोषित भए। उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच पनि गाईघाटकै क्रमशः प्रविन राई र किरण कुमार कार्की घोषित भए।

त्यसैगरी उत्कृष्ट डिफेन्स बुइपाका रामशुर राई घोषित भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए। उनीहरुलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

सुझावित समाचार