रूपनगर क्याम्पसले आयोजना गरेको नन्दराज कप फुटबल प्रतियोगिता बुधबार सुरु भएको छ । जम्मा १६ वटा फुटबल टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा नगद, सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था छ ।
रूपनगरको सुन्दरी खेलमैदानमा भएको प्रतियोगिता ११ दिनसम्म चल्ने र अन्तिम खेल फागुन १७ गते हुनेछ । कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।
क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले नगद २५ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको दोस्राे पुरस्कार नगद ११ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र हुनेछ। प्लेयर अफ दी टुर्नामेन्ट, म्यान अफ दी म्याचलगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ।
क्याम्पसका खेलकुद संयोजक रूपेश चौधरीका अनुसार बुधबार भएको उद्घाटन खेलमा जगतपुर फुटबल क्लबले बाबा बजरंगवली युवा क्लबलाई १–० ले हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रूपनगर क्याम्पस फुटबल टोलीलगायत बाबा बजरंगवली युवा क्लब, जगतपुर फुटबल क्लब, महुली फुटबल क्लब, जोगमोहन फुटबल क्लब, धर्मेश्वर फुटबल क्लब, सिर्जना फुटबल क्लब र श्री नवयुवा क्लबको सहभागिता रहेको छ। त्यसैगरी, बलुवा फुटबल क्लब, मगरटोल फुटबल क्लब, रिभरसाइड फुटबल क्लब, भुवनपट्टी फुटबल क्लब, डिआर युके एस फुटबल क्लब, प्रोग्रेसिभ फुटबल क्लब, श्री माँ दुर्गा फुटबल क्लब र वसन्तपुर फुटबल क्लब प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्दै छन्।
जवाफ एडुकेसन्स् र सगुन संग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन एक्मी इन्जिनियरिङ कलेजले गरेको छ। त्यसैगरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पसले दिएको छ। हेमप्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इंग्लिस स्कुल, श्रवणकुमार चौधरी, शुभदिन दुध संकलन केन्द्रलगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेको जानकारी प्रतियोगिता आयोजक समितिले दिएको छ। त्यसैगरी, जिल्ला खेलकुद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलका तर्फबाट खेलाडीहरूलाई जर्सीलगायत अन्य उपकरण सहयोग प्राप्त भएको रूपनगर क्याम्पस फुटबल क्लबमा कप्तान आफताब अलीले जानकारी दिए ।
राष्ट्रियस्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले खेलाएको बुधबारको खेलमा जगतपुर क्लबका खेलाडी कौशल खंग म्यान अफ दी म्याच घोषित भए।