म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगरस्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो ।
नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर ६ किलोमिटर लामो सडकको ट्रयाक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत् आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए। ट्रयाक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसँगै बुधबार जेल्टुङमा पहिलोपटक बोलेरो जिप पुगेको थियो ।
चक्रीय धौलागिरि पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रूपमा रहेको बगर सडक सञ्जालले जोडिएसँगै स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको धवलागिरि– ४ मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीमगरले बताए । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् ।
यसअघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब दुईदेखि तीन घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसँगै ऊर्जा डेभलपर्स प्रा.लि.अन्तर्गत रहेको हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहका लागि बंकर घर र क्याम्पलगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ ।
यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसँगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ । धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले सडकको पहुँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन ।