निर्माण सम्पन्न गर्ने अवधि नजिकिँदै गर्दा इस्मा गाउँपालिका– २ को छल्दीदेखि ठाढुंगा जोड्ने सडक कालोपत्रे गर्ने सडकको काम ३१ प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय पाल्पामार्फत इस्मा गाउँपालिका– २ को छल्दीदेखि ठाढुंगा जोड्ने सकड कालोपत्रे गर्न रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभीले ०७९ साल वैशाख २६ गते सम्झौता गरेको थियो ।
सम्झौताको म्याद आगामी २५ वैशाखमा सकिन्छ । तर, निर्माण व्यवसायीले ३१ प्रतिशत काम मात्रै सकेको योजना कार्यान्वयन गरिरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर राजेश अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष साढे तीन करोड बजेट यसका लागि छुट्याइएको छ ।
निर्माण व्यवसायीले समयमै काम नसकेपछि सार्वजनिक खरिद नियमावलीअनुसार ०८२ कात्तिक १० सम्म म्याद थप गरेको कार्यालयले जनाएको छ । यो सडक कालोपत्रेका लागि २४ करोड ७२ लाख ६८ हजार रुपैयाँमा सम्झौता भएको थियो । बस्तीमाथिबाट निर्माण गरिएको सडकको काम समयमै नहुँदा वर्षात्मा घर र बारी पुर्ने गरेको स्थानीय युवा अमित कुँवरले बताए ।