नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ब्रान्डका डेढ सयभन्दा बढी स्टल रहने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १०औँ संस्करण आजदेखि सुरु हुँदै छ । यो प्रदर्शनी ८ देखि ११ फागुनसम्म भृकुटीमण्डप, काठमाडौंमा चल्ने बताइएको छ । 

आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी प्रख्यात ब्रान्डका डेढ सयभन्दा बढी स्टल रहनेछन् । निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने प्रदर्शनी र स्टल रहने आयोजकको भनाइ छ । 

उक्त प्रदर्शनीमा निर्माण सामग्री तथा उपकरण, केमिकल्स, युपिभिसीका झ्यालढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ पाइप, टायल्स, कंक्रिट ब्लकलगायत उत्पादक कम्पनीले सहभागिता जनाउनेछन् । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

आयोजकका अनुसार निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरको समेत उल्लेख्य सहभागिता रहनेछ । निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्थाको पनि उपस्थिति रहनेछ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाइबर्ड र सहप्रायोजकमा पर्ल प्रेसिजन रहेका छन् । सहयोगी संस्थामा नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहेका छन् । 

सुझावित समाचार