संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। बिहीबार बिहान काठमाडौंस्थित हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार केही दिन अगाडिदेखि अस्वस्थ भएपछि सापकोटा फागुन ४ गते अस्पताल भर्ना भएका थिए। अस्पतालले आज बिहान मृत घोषणा गरेकाे परिवारले जनाएको छ।
सभासद् सापकोटाको पार्थिव शरीरलाई बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि तीनकुनेस्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। सापकोटाकी एक मात्र सन्तान छोरी छिन् । छोरी अध्ययनका लागि अमेरिकामा रहेकोमा बिरामी बुबाको हेरचाहका लागि केही दिन अगाडि नेपाल आएकी थिइन् ।