वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ फागुनसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको हो । १ फागुनसम्म निक्षेप संकलन ५९ खर्ब ९८ अर्ब थियो । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ५९ खर्ब ९१ अर्ब थियो । एक महिना दुई दिनमा निक्षेप संकलन १२ अर्बले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै, चालू आवको सात महिना दुई दिनको अवधिमा निक्षेप संकलन दुई खर्ब ४७ अर्बले बढेको छ ।
पछिल्लो समय कर्जा असुली प्रभावित हुँदा नयाँ कर्जा विस्तार सुस्त छ । २ फागुनसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब पुगेको छ । बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत रेमिट्यान्स बढिरहेकाले निक्षेप संकलन भने बढ्दो क्रममा छ । कुल बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ३२ अर्ब कायम छ । त्यस्तै, कुल कर्जा प्रवाह ५४ खर्ब ३९ अर्ब छ ।
तुलनात्मक रूपमा निक्षेप संकलन बढिरहेको देखिए पनि यो क्रम लम्बिँदै जाने सम्भावना न्यून रहेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोजयता रेमिट्यान्सको वृद्धिदर घट्दो क्रममा रहेको, आयात बढ्दै गइरहेको र केन्द्रीय बैंकले खिच्ने अधिक तरलतामा समेत कमी आएकाले निक्षेप संकलनमा भइरहेको वृद्धि लामो समय नजाने संकेत देखिएको बताए । उनले भने, ‘असोजसम्म रेमिट्यान्सको वृद्धिदर दोहोरो अंकमा थियो । अहिले एकल अंकको दरले बढिरहेको छ । त्यस्तै, आयात बढ्न थालेको छ । डेढ महिनाअघिसम्म साढे तीन खर्ब अधिक तरलता तानिरहेको राष्ट्र बैंकले साढे दुई खर्ब मात्रै खिचेको छ । यसले निक्षेप संकलन बढ्ने क्रम अब धेरै समयसम्म नजाने संकेत मिलेको छ ।’
असोजसम्म रेमिट्यान्सको वृद्धिदर ११.५ प्रतिशत थियो । कात्तिकमा यो वृद्धिदर ९.१ प्रतिशतमा झर्यो । मंसिरमा यो दर ४.४ प्रतिशत र पुससम्ममा ४.१ प्रतिशत पुगेको छ । यसले रेमिट्यान्समा भइरहेको वृद्धिदर संकुचनमा गएको बुझ्न सकिन्छ । बढ्दो वस्तुको आयातले कर्जा विस्तारमा सघाउ पुर्याइरहेको उनको बुझाइ छ । केन्द्रीय बैंकले २१ पुसमा बजारबाट खिचेको अधिक तरलता तीन खर्ब ३० अर्ब पुगेको थियो । ६ फागुनमा खिचिएको तरलता दुई खर्ब ३९ अर्ब मौज्दात छ ।
केन्द्रीय बैंकले खिच्ने अधिक तरलता पनि कम हुँदै गएकाले आर्थिक गतिविधि बढ्दै गइरहेको अनुमान लगाउन सकिने कार्यकारी निर्देशक डा. भट्टले बताए । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात ४.९२ प्रतिशत छ । वाणिज्य बैंकहरूको मात्रै ४.७३ प्रतिशत छ । कर्जा असुली हुन नसकेकाले निष्क्रिय कर्जाको अनुपात बढ्दै गइरहेको छ । पछिल्लो समय पुँजी निर्माण र मध्यम उपभोगका वस्तुको आयात बढेकाले आर्थिक गतिविधिमा सुधार भइरहेको र यसले कर्जा रिकभरीमा पनि सुधार भएको डा. भट्टको विश्लेषण छ ।
कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको तयारी
केन्द्रीय बैंकले अर्काे सातासम्ममा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यो गभर्नर महाप्रसाद अधिकारीको आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा हुनेछ । २५ चैतसम्म उनको कार्यकाल छ । अर्थतन्त्रलाई गतिशीलता दिन सार्वजनिक वित्तमा सुधार नभइरहेको सन्दर्भमा मौद्रिक नीतिको समीक्षाले कस्तो नीति लिनेछ भन्ने चौतर्फी चासो छ ।