विपन्न आशादेवीलाई रोगमाथि रोग : मिर्गौलाको पीडामाथि पायल्स र क्यान्सरको चोट

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

गुल्मी धुर्कोट गाउँपालिका– १ नयाँगाउँ मैदानकी ६५ वर्षीया आशादेवी दर्जीलाई करिब २० वर्षदेखि उच्च रक्तचापको समस्या थियो । उनी नियमित औषधि खान्थिन् । बिस्तारै खाना मिठो नहुने र हातखुट्टा सुन्निने समस्या देखिन थाल्यो । गुल्मी अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो । 

छोरा राजु दर्जीका अनुसार आशादेवी ०७९ देखि मिर्गौलापीडित छन् । मिर्गौला प्रत्यारोपणको सम्भावना थिएन । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा दुई वर्षसम्म डायलाइसिस गरिएको राजुले बताए । एक वर्षदेखि तम्घासमा तीन दिन आइतबार, बुधबार र शुक्रबार डायलाइसिस हुन्छ । पछि पायल्सको समस्या बल्झियो । आशादेवीलाई दुई महिनादेखि दीर्घरोग क्यान्सरसमेत थपिएको छ । 

राजुले गाउँबाट आउ–जाउ सम्भव नभएपछि सदरमुकाममै कोठा भाडामा लिएर आमालाई डायलाइसिस गर्दै आएका छन् । ‘आमालाई अक्सिजनविना राख्न सकिँदैन । सातामा तीन दिन घरबाट अस्पताल पुग्न अप्ठ्यारो भयो,’ राजुले भने, ‘कोठा भाडामा खोजेर अक्सिजनसहित उपचार गरिरहेको छु ।’ दलित विपन्न परिवारमा चोटमाथि चोट परिरहेको छ । राजुका दुई भाइ छन् । दाजुको केही समय पहिले भारतमा मृत्यु भयो । बुबा बितेका आठ वर्ष भयो । होटेलमा काम गरेर परिवारको जोहो गरेका उनी आफू आमाका कारण काममा फर्किन पाएनन् । 

जीवनभर कमाएको करिब २० लाख आमाको उपचारमा सकिएपछि अहिले निकै समस्या थपिएको राजुले गुनासो गरे । उनका पाँच छोरी छन् । अहिले पनि मासिक १५ देखि २० हजार रुपैयाँ आमाको उपचारमा खर्च हुने गरेको छ । गाउँको बारीले ६ महिना खान पुग्दैन । आमालाई फर्काएर घर लैजान पनि राजुको मनले मान्दैन । आमाको उपचार र परिवार व्यवस्थापनको उपाय सबै बन्द हुँदै गएको उनले बताए ।

‘आमालाई रोगमाथि रोग बल्झिएपछि तातो दुध निल्नु न उकेल्नु भइरहेको छ । उपचार गर्ने उपाय सबै बन्द हुँदै गए,’ उनले भने, ‘उपचारमा सम्पत्ति सकिए पनि बचाउने आशा अझै मरिसकेको छैन ।’ उनले सबैसँग सहयोगको याचना गरे । आफ्नो कमाइ उपचारमा सकेका राजुले बाँचुन्जेल उपचार गर्नुपर्ने भएकाले औषधि किन्न पनि अप्ठ्यारो परेको बताए । सहयोगका लागि लक्ष्मी सनराइज बैंकमा पीडित आशादेवी दर्जीको खाता नं ११२१३७५७४९२०५००१ मा सहयोग गर्न सकिनेछ ।यसकाे साथै पीडित आशादेवीलाई सहयोग गर्न चाहनेले यस फोन नं. ९८६४४९८५८५ मा सम्पर्क गर्न सकिनेछ ।    

See More On

सुझावित समाचार