एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार सुरु हुँदै छ । दुईदिने बैठक प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बिहीबार बिहान ११ बजे सुरु हुनेछ ।
बैठकमा राजनीतिक प्रतिवेदन, नियमावली, आगामी कार्ययोजना, महाधिवेशनको समीक्षा प्रतिवेदन, आन्दोलनद्वारा पार्टी निर्माण प्रस्ताव, सरकारले ल्याएको अध्यादेशलगायत कार्यसूची रहेको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
एकीकृत समाजवादीले सरकारले संसद् अधिवेशनको सँघारमा ल्याएका अध्यादेशहरूको प्रक्रिया र अन्तर्वस्तु गलत र हानिकारक भएको निष्कर्षसहित अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
‘अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ उनले भने ।
यसअघि सत्तारूढ दल कांग्रेसले अध्यादेश पारित गर्न एकीकृत समाजवादीको साथ खोज्ने निर्णय गरेको थियो । भरतको ओडिसामा मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको छानबिन गरी दोषीलाई कारबाहीका लागि विशेष प्रस्ताव पारित गरेको छ ।