प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको खुला मैदानमै जनताको जीवनमा प्रगति भएको बताएका छन् । ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार सहिद मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै चुनौती चिरेर सरकार अगाडि बढ्ने बताए ।
लोकतन्त्रकै उपलब्धिका रूपमा पारदर्शितासँगै डिजिटल माध्यमबाट नागरिकलाई सेवा आरम्भ गर्न सकिएको उनले स्मरण गरे । ‘लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ । जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ,’ उनले भने ।
ओलीले एक वर्षभित्रै मुलुकलाई कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्न लागिएको पनि बताए । ‘सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकांकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने अभियानमा हामी समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न सफल हुनेछौँ,’ उनले भने । ७ फागुनले निरंकुश जहानिया राणा शासनबाट अधिकार जनताको हातमा आएका कारण विशेष महत्वको दिनका रूपमा लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरिएको हो । जसअनुसार टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत भएका छन् । चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानव सेवा तथा समाज सेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने जनाइएको छ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान् नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि १७ मंसिर ०७५ को मन्त्रिपरिषद् बैठकले ती पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो । कोषबाट प्रत्येक वर्ष दुईजना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।