चितवनका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

चितवनको भरतपुर– २१, पार्वतीपुरस्थित श्री आधारभूत विद्यालय कञ्चनबस्तीका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग, स्टेसनरी तथा खेलकुदका सामग्री उपलब्ध गराइएको छ। हेल्प नेपाल नेटवर्कको सहयोग र इन्द्र भगवती अक्षय कोषको आयोजनामा यी सामग्री उपलब्ध गराइएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डे, अध्यक्ष बाबुराम तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुरुङ, हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक डिला खरेल, अक्षय कोषका संस्थापक भूपेन्द्र बस्नेत, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतको उपस्थिति थियो।

सामग्री वितरण कार्यक्रममा बोल्दै हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक खरेलले विद्यार्थीहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताए। चितवनको भरतपुर महानगरपालिका– ५, आनन्दपुर घर भएका खरेल विगत लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आएका छन्। 

२५ वर्षअघि स्थापना भएको हेल्प नेपालको हाल ३० वटा देशमा शाखा छन्। आधारभूत विद्यालय कञ्चनबस्ती २०३५ सालमा स्थापना भएको विद्यालय हो। यस विद्यालयमा विपिन्न परिवारका १०० जति विद्यार्थी पठनपाठन गर्दछन्। विद्यार्थीको सहजताका लागि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको वडाध्यक्ष गुरुङले बताए। हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यावहारिक तथा सिर्जनात्मक सिकाइका गतिविधि गराइँदै आइएको उनको भनाइ छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित भएका एलबी क्षेत्रीले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षक तथा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

सुझावित समाचार