पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा सकारात्मक तरंग फैलिएको छ । अब राजतन्त्र पुनर्स्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै उनीहरू जुर्मुराएका छन् ।आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।
पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । नेपालको उन्नतिका लागि हामीबाट अरू के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौँ ।’
पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन । विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यबाजीभन्दा बाहेक राजतन्त्र पुनर्स्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैन । यसपालिको वक्तव्यमा भने उनले मूर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ । ‘अब राजाले केही गर्दै छन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजै फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।
उनी लेख्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभसन्देश प्राप्त जो– जहाँ छौँ त्यही स्थानमा रहनका साथै तयारी अवस्थामा रहन अनुरोध गर्दछौँ । यो सन्देश सबैमा पुर्याउन अपिल गर्दछौँ ।’ हामीले उनैलाई सोध्यौँ । जवाफमा उनले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमतसंग्रह गराउन निर्णायक दबाब दिइने बताए ।
उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधीबेहेरी ल्याउने उद्घोष गरे ।