मस्कको स्वामित्वपछि एक्समा बढ्दो द्वेष

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

साथीभाइ र परिवारजनबिच सम्पर्कमा रहनका लागि सिर्जना गरिएको एक्स प्लेटफर्म अहिले घृणास्पद सामग्रीको अखडा बन्दै गएको छ 

प्रविधि अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स खरिद गरेपछि कम्तीमा आठ महिनासम्म सो प्लेटफर्ममा द्वेषी अभिव्यक्ति निरन्तर रूपमा ५० प्रतिशतले बढेको नयाँ अनुसन्धानले देखाएको छ । अनुसन्धानले नश्लभेदी, समलिंगी द्वेषी र ट्रान्सफोबिक (ट्रान्सजेन्डर व्यक्तिप्रतिको द्वेष) गालीगलोजसहितको प्रत्यक्ष द्वेषी अभिव्यक्तिको व्यापकतालाई अध्ययन गरेको थियो । ‘प्लोस वान’मा प्रकाशित यो अध्ययन क्यालिफोर्निया विश्वविद्यालय, बक्र्लीका डेनियल हिक्नी नेतृत्वको अनुसन्धान टोलीले सञ्चालन गरेको हो । अनुसन्धानले सुरुमा साथीभाइ र परिवारजनबिच सम्पर्कमा रहनका लागि सिर्जना गरिएको एक्स प्लेटफर्म अहिले कसरी घृणास्पद सामग्रीको अखडा बन्दै गएको छ, भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ । यो निकै गम्भीर चिन्ताको विषय हो, किनभने अनलाइन द्वेषी अभिव्यक्तिको सम्बन्ध अफलाइन (भौतिक) हिंसात्मक घृणा अपराधसँग जोडिएको देखिन्छ ।

वाचाका लामा फेहरिस्त : २७ अक्टोबर २०२२ मा इलोन मस्कले एक्स (पहिले ट्विटर) लाई आधिकारिक रूपमा ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए र यसको प्रमुख कार्यकारी अधिकारी बनेका थिए । उनले प्लेटफर्ममा द्वेषी अभिव्यक्ति कम गर्ने तथा बोट (गैरव्यक्तिगत स्वचालित एकाउन्ट) र अन्य नक्कली एकाउन्ट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, एक्स खरिद गरेपछि मस्कले एक्सको कन्टेन्ट (सामग्री) नियन्त्रण घटाउन धेरै परिवर्तन गरे । उदाहरणका लागि, नोभेम्बर २०२२ मा उनले कम्पनीका स्थायी कर्मचारीको ठुलो संख्यालाई सेवानिवृत्त गराए । उनले एक्समा दुरुपयोग अनुगमन गर्न आउटसोर्स गरिएका सामग्री नियन्त्रक (कन्टेन्ट मोडरेटर) लाई पनि हटाए, जबकि अनुसन्धानले उच्चस्तरको सामग्री (कन्टेन्ट) नियमन भएका सामाजिक सञ्जालमा द्वेषी भाष्य कम हुने देखाउँछ ।

पछिल्लो महिनामा मस्कले एक्सको गोपनीयता र सुरक्षासम्बन्धी परिषद् ट्रस्ट एन्ड सेफ्टी काउन्सिललाई पनि भंग गरे । यो परिषद् स्वतन्त्र मानव अधिकार अभियन्ता र प्राज्ञ सम्मिलित एक स्वयंसेवी सल्लाहकार समूह थियो, जुन सन् २०१६ मा एक्समा घृणास्पद भाषण र अन्य समस्याविरुद्ध लड्न गठन गरिएको थियो । यसअघिका अनुसन्धानले देखाएअनुसार मस्कले एक्सको नेतृत्व सम्हाल्नासाथ प्लेटफर्ममा द्वेषी अभिव्यक्तिमा वृद्धि भएको थियो । त्यसैगरी, विभिन्न प्रकारका बोटको संख्या पनि बढेको थियो । तर, यो नयाँ अध्ययनले यो अस्थायी घटनाक्रम मात्र नभई स्थायी प्रवृत्ति पनि हो भन्ने देखाएको छ ।

४० लाखभन्दा बढी पोस्टको अनुसन्धानको नतिजा : अध्ययनले सन् २०२२ को सुरुदेखि ९ जुन २०२३ सम्म एक्समा गरिएको ४७ लाख अंग्रेजी पोस्टको विश्लेषण गरेको थियो । यस अवधिमा मस्कले एक्स खरिद गर्नुभन्दा १० महिना अगाडिदेखि खरिद गरेपछि आठ महिनासम्मका पोस्ट समेटिएका थिए । अध्ययनले स्पष्ट रूपमा देखिने प्रत्यक्ष द्वेषी अभिव्यक्तिको मापन गरेको थियो । प्रत्यक्ष द्वेषी अभिव्यक्तिको अर्थ कुनै पनि पाठकले सजिलै बुझ्न सक्ने खालको घृणास्पद अभिव्यक्ति हो, जसमा कुनै पहिचान समूहलाई आक्रमण गर्ने वा विषाक्त भाषा प्रयोग गर्ने सामग्री समावेश हुन्छन् । तर, अध्ययनले परोक्ष घृणास्पद अभिव्यक्तिको मापन गरेको थिएन । यस्ता अभिव्यक्तिमा केही उग्रवादी समूहले घृणा फैलाउन प्रत्यक्ष अस्वीकार गर्न मिल्ने गुप्त सांकेतिक भाषा प्रयोग गर्ने प्रवृत्ति देखिन्छ ।

अध्ययनले एक्समा द्वेषी अभिव्यक्तिको मात्रासँगै प्रयोगकर्ताले तिनलाई कति लाइक गरे भनेर पनि मापन गरेको थियो । तर, अध्ययनकै क्रममा एक्सले नीतिमा परिवर्तन गर्दै यसका तथ्यांकमा दिइएको निःशुल्क प्राज्ञिक पहुँच हटाई भुक्तानी आवश्यक बनायो, जसले अनुसन्धानकर्ताको डेटा (तथ्यांक) संकलनलाई सीमित बनाइदियो । अनुसन्धाताले यसले नतिजामा असर पर्यो कि परेन भन्ने उल्लेख गरेका छैनन् ।

द्वेषयुक्त अभिव्यक्तिमा प्रत्यक्ष वृद्धि : अध्ययनले मस्कले एक्स खरिद गरेपछि द्वेषी पोस्टको संख्या स्पष्ट रूपमा बढेको देखायो । विशेषतः द्वेषी पोस्ट ५० प्रतिशतले बढ्दै साप्ताहिक औसत दुई हजार एक सय ७९ बाट तीन हजार दुई सय ४६ पुगेको देखियो । ट्रान्सफोबिक गालीगलोजमा सबैभन्दा बढी वृद्धि देखियो, जसको औसत एक सय १५ पोस्टबाट चार सय १८ प्रतिसाता पुग्यो । मस्कको नेतृत्वमा यस्ता पोस्टसँग प्रयोगकर्ताको संलग्नता पनि बढ्यो, जसअनुसार लाइक गर्ने दर ७० प्रतिशतले वृद्धि भयो ।

अनुसन्धानकर्ताका अनुसार यी नतिजाले घृणास्पद सामग्री मेटाइएका छैनन्, द्वेषी प्रयोगकर्ता थप सक्रिय भएका छन्, एल्गोरिदमले अनजानमा यस्तो सामग्री प्रवर्द्धन गर्यो वा यी सबै भएको हो भन्ने संकेत गर्छ । अध्ययनले एक्समा नक्कली एकाउन्टको गतिविधिमा कुनै गिरावट भेटेको छैन । बरु बोट एकाउन्टको सम्भावित वृद्धि देखिएको छ, विशेषतः क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्ने पोस्टमा भएको ठुलो वृद्धिका आधारमा भन्न सकिन्छ । र, यी प्रवर्द्धन प्रायः बोटसँग सम्बन्धित हुन्छन् ।

तथ्यांक उजागर गर्ने अध्ययन : अध्ययनमा केही सीमितता थिए । उदाहरणका लागि, यसले केवल अंग्रेजी भाषाका द्वेषी पोस्टको अध्ययन गरेको थियो, जुन एक्सका कुल पोस्टको ३१ प्रतिशत मात्र हो । तैपनि, यो अनुसन्धान एक्सको वर्तमान अवस्थाबारे तथ्यमा आधारित गहिरो विश्लेषण हो । यसले एक्स प्लेटफर्ममा द्वेषी सामग्री व्यापक रूपमा फैलिएको देखाउँछ । यसबाहेक मस्क द्वेषी अभिव्यक्ति र बोट गतिविधि नियन्त्रण गर्ने आफ्ना प्रतिबद्धता पूरा गर्न असफल भएको स्पष्ट हुन्छ । स्मरण रहोस्, स्वयं मस्कले पनि ह्वाइट हाउसमा यसै साता ‘मेरा केही भनाइ गलत हुन सक्छन् र तिनलाई सच्याइनुपर्छ’ भनेका थिए । 

(जेन्सन क्यानबेरा विश्वविद्यालयका शासन एवं नीति विश्लेषणका सह–प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार