संसदमा बोल्न नदिएको विषयले रास्वपा सांसद र सभामुख आमनेसामने

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्न नपाएको विषयमा रास्वपा सांसदहरू र सभामुख देवराज घिमिरे आरोप–प्रत्यारोपमा उत्रिएका छन् । भारतमा नेपाली छात्राको मृत्यु र न्याय माग्दा नेपाली विद्यार्थीमाथि भएको अमानवीय दुव्र्यवहार घटनाबारे धारणा राख्न सोमबार आकस्मिक समय माग्दा सभामुखले नदिएपछि सांसद सुमना श्रेष्ठले मिडियामार्फत तत्काल उठाउनुपर्ने जरुरी विषयलाई अनदेखा गरेर विभेद भएको भन्दै विरोध गरेकी थिइन् ।

त्यसअघि विधायन विधेयक पारित गर्दा सरकारकै मन्त्रीले संसदीय प्रक्रिया मिचेको विषय उठाउन खोज्दा आकस्मिक समय नपाएकी सांसद सोविता गौतमले पनि सोमबारै फेसबुकमार्फत सदनमा सांसदले बोल्नुअघि नै आवाज बन्दको प्रयास दुःखद भएको उल्लेख गरेकी थिइन् । 

‘सांसदले आकस्मिक समय माग गर्दा, सभामुखले पहिले के बोल्न लागिएको छ भनेर थाहा पाउन खोज्नुहुन्छ, अनि हामीले बोल्न पाउने कुरा उहाँकै छनोटमा सीमित हुन्छ । संसद् भनेको विचारको खुला मञ्च हो, तर किन सभामुख आफैँले यसलाई घेराबन्दी गर्न खोज्नुहुन्छ ?’ उनले सोधेकी थिइन् । सोविताले बोल्न खोजेको दिन प्रक्रिया मिचिएकै विषयमा राप्रपाका ध्रुवबहादुर प्रधान र नेमकिपाका प्रेम सुवालले पनि आकस्मिक समय मागे पनि पाएका थिएनन् । 

रास्वपा सांसदद्वय श्रेष्ठ र गौतमले समय नपाएको भनेर प्रश्न उठाएपछि सभामुख घिमिरेले आफ्नो सचिवालय र स्वयं आफैँले पनि प्रतिवाद गरेका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले ‘सुमना र सोविताको एगोसेन्ट्रिजम’ भनेर फेसबुकबाट आलोचना गरेका छन् । अधिकारीले मंगलबार प्रेस नोट जारी गरेर सांसदद्वय श्रेष्ठ र गौतमले संसद्मा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुखले चासो लिएको उल्लेख गरेका छन् । गौतमले पारित भइसकेको विधायन विधेयकबारे प्रक्रिया बिग्रिएको भन्दै २८ माघमा आकस्मिक समय मागेको र सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने भनेर नदिएको विज्ञप्तिमा उल्लेख छ । 

श्रेष्ठले ५ फागुनको बैठक सुरुवातको जनाउ घन्टी बज्न सुरु भएपछि भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएको सभामुखको सचिवालयले भनेको छ । ‘सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो । ‘जनाउ घन्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो,’ सभामुख घिमिरेको सचिवालयले जारी गरेको नोटमा भनिएको छ, ‘रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो । दलीय अनुरोध पनि आएको होइन ।’ 

वक्तव्यप्रति असहमति जनाउँदै सांसद गौतमले मंगलबारको शून्य समयमा ‘सदनभित्र समय विभाजनको विषयमा यसरी प्रेस विज्ञले टीकाटिप्पणी गर्नुपर्ने हो जस्तो मलाई लाग्दैन । सम्माननीयज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’ भनेकी थिइन् । 

सभामुख घिमिरेले मंगलबार बिहान सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उडिसामा समस्यामा परेका नेपाली विद्यार्थीको विषयमा आकस्मिक समय माग्दा सुमना श्रेष्ठले आफूसँग दादागिरी शैली देखाएको र बैठकमा अस्वाभाविक रूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । परराष्ट्र मन्त्रालयसँग विषय बुझेर पछि समय मिलाउने भने पनि दादागिरी शैलीमा असंसदीय प्रस्तुति देखाएको सभामुख घिमिरेको भनाइ छ । 

भारतमा समस्यामा परेका नेपाली विद्यार्थीको विषय उठाउन सोमबार आकस्मिक समय नपाएकी रास्वपा सांसद सुमना श्रेष्ठको शून्य समयमा पालो थियो । एमाले सचेतक सुनिता बराल बोलिसकेपछि सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि श्रेष्ठको नाम उच्चारण गरेका थिए । सुरुवातमा बैठकमा उपस्थित श्रेष्ठ आकस्मिक समय चल्दै गर्दा आफ्नो झोला र डकुमेन्ट कुर्सीमा राखेर बाहिर निस्किएकी थिइन् । शून्य समयमा पालो आउँदा उनी बैठकमा थिइनन् ।

See More On

सुझावित समाचार