इ–कमर्स विधेयक प्रतिनिधिसभाबाट पनि पारित

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा आउने

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
इ–कमर्स विधेयक प्रतिनिधिसभाबाट पनि पारित

फाइल तस्बिर

विद्युतीय व्यापार (इ–कमर्स) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले उद्योग समितिको प्रतिवेदनमा दफावार छलफल गर्दै विधेयक सर्वसम्मत पारित गरेको हो। उद्योगमन्त्री दामोदर भण्डारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

१२ असार ०८० मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक १६ कात्तिकमा पारित भएर सन्देशसहित प्रतिनिधिसभामा आएको थियो। झण्डै १६ महिनामा प्रतिनिधिसभाले संशोधनसहित विधेयक पारित गरेको हो। दुबै सभाबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ।

नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिद बिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवर्द्धन गर्न विद्युतीय व्यापारसम्बन्धी ऐन आवश्यक भएको भन्दै तत्कालीन उद्योगमन्त्री रमेश रिजालले विधेयक दर्ता गरेका थिए।

‘विद्युतीय व्यापार प्रवर्द्धनको माध्यमबाट मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धन तथा लघु, घरेलु, साना तथा मझौला उद्योगको उत्पादन अभिवृद्धि गर्न सकिने अवस्था रहेको छ। कानूनी व्यवस्थाको अभावमा विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिनाई भएको छ,’ रिजालले भनेका छन्, ‘तसर्थ सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक भएकोले विधेयक ल्याएको हो।’

विधेयकमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले विभिन्न संशोधन गर्दै उपभोक्ता र प्रविधिमैत्री बनाएर पारित गरेको हो।

See More On

सुझावित समाचार