१२ फागुनदेखि कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर खुला मञ्चमा प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ हुने भएको हो।
‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिका आधार’ भन्ने मूल नाराका साथ वाणिज्य संघले १६औैँ संस्करणको महोत्सव आयोजना गर्न लागेको हो। संघले ०५७ सालदेखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको संघका महासचिव खगेश्वर बोहराले जानकारी दिए।
महासचिव बोहराका अनुसार १० दिनसम्म संचालन हुने महोत्सवमा ३ सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्ट, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, दैनिक उपभोग्य समग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रदर्शन गरिनेछन्। मनोरन्जनका लागि बाल उद्यान राखिनेछ। यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति तथा खानाका परिकारसमेत मेलामा राखिनेछ।
‘यस पटक हामीले थारु समुदायको संस्कृति र खाद्य परिकार प्रबर्द्धनका लागि छुट्टै ‘थारु गाउँ’ बनाएर खाने परिकार, संस्कृति, कला प्रदर्शन गछौँ,’ बोहराले भने, ‘यो महोत्सवको मुख्य आकर्षण हुनेछ।’ मेलामा स्थानीय तथा राष्ट्रिय कलाबारबाट विविध साँस्कृतिक कला प्रस्तुत हुनेछ।
सीमावर्ती जिल्लामा हुन लागेको महोत्सवमा भारतीय दर्शकहरु समेत आउने अपेक्षा गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको बताए। जोशीका अनुसार कृषि, लघु उद्यमसहितका बस्तु तथा सेवाको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य छ।
महोत्सवको टिकट बिक्रीबापत प्रतिटिकट दुई रुपैयाँ भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माण, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको कोष निर्माणका लागि १ रुपैयाँ र अन्य सामाजिक सेवाका लागि २ रुपैयाँ छुट्याइने बताइएको छ।
सुदूरपश्चिम प्रदेशका कृषि उद्योगीलाई सम्बन्धीत जिल्लाको वाणिज्य संघबाट सिफारिस आए निःशुल्क स्टल उपलब्ध गराउने अध्यक्ष जोशीले बताए। महोत्सव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आथित्य र भारत उत्तराखण्ड प्रदेशका पर्यटन, सँस्कृति एवं सिंचाईमन्त्री सतपाल महराजको बिशिष्ठ आथित्यमा हुनेछ।