प्रहरीको जग्गा किर्ते गर्ने मालपोतका सुब्बालाई दुई वर्ष कैद

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ। सोमबार जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले यस मुद्दामा सजाय सुनाएको हो।

जिल्ला अदालत काभ्रेका स्रेस्तेदार कर्णबहादुर राईका अनुसार प्रतिवादी पुष्करबहादुर बस्नेतलाई कैद र सजाय सुनाइएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठानको ३६ रोपनी जग्गा किर्ते गरी व्यक्तिका नाममा गरेको भन्दै बस्नेतलाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाइएको हो।

यस मुद्दामा न्यायाधीश पोखरेलको इजलासले गत १८ माघमै कसूर कायमको फैसला गरेको थियो भने सजाय सोमबार निर्धारण भएको हो। यो मुद्दा गत वर्ष १७ मंसिरमा दायर भएको थियो। ६४ वर्षीय बस्नेतलाई किर्ते अभियोगमा गत वर्ष मंसिर पहिलो साता प्रहरीले पक्राउ गरेको थियो। पुर्पक्षका लागि थुनामै रहिरहेका बस्नेत उपर आवश्यक अनुसन्धान गरी मुद्दा दायर भएको थियो।

प्रतिवादी बस्नेतले काभ्रेको पनौती नगरपालिका– ६ मा निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका थिए। सरकारले भोगचलनका लागि भनी वन क्षेत्रमा पर्ने उक्त जग्गा १५ साउन ०५२ सालको मन्त्रिपरिषद्को निर्णयले प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो भनी दाबी गरेका थिए। उनले जग्गा दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए जुन खारेज भइसकेको छ।

सुझावित समाचार