शिक्षा ऐन जारी गर्न माग गर्दै स्थानीय सरकारलाई शिक्षकको खबरदारी

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाका शिक्षकहरु तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्र्दै आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघ संखुवासभाले जिल्लाका १० वटै स्थानीय तहमा मंगलबार खबरदारी तथा ध्यानाकर्षण सभा आयोजना गरेको हो।

शिक्षक महासंघ खाँदबारी नगर समितिले खाँदबारी नगरपालिका पुगेर कार्यालयको अगाडी खबरदारी तथा ध्यानाकर्षण सभा आयोजना गरेका थिए। सभामा शिक्षक महासंघअन्तर्गत रहेका नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका खाँदबारी नगरसमितिका प्रतिनिधि र जिल्ला प्रतिनिधिहरुको उपस्थिति थियो। उनीहरुले सरकारले तत्कालै शिक्षा ऐन जारी गरी शिक्षकहरुको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले शिक्षकहरुको जायज मागप्रति आफूहरुको समर्थन रहेको बताए। उनले यसअघिदेखि नै शिक्षकहरुको आन्दोलनका बारेमा आफू जानकार रहेको बताउँदै स्थानीय सरकारले गर्नुपर्ने सहयोग र समर्थन सधैँ रहने आश्वासन दिए।

शिक्षक महासंघको टोलीले खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेलाई ज्ञापनपत्र बुझाएका थिए। 

शिक्षक महासंघले तत्कालै शिक्षा ऐन जारी गर्नुपर्ने तथा स्थायी, राहत, साविक उमावि, शिक्षक सिकाई अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा र संस्थागत विद्यालयका शिक्षक कर्मचारी सबैको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेको छ।

देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको सर्कुलरअनुसार नै ७५३ वटै स्थानीय तहमा खबरदारी तथा ध्यानाकर्षण सभाको आयोजना गरिएको बताइएको छ। आज मंगलबारदेखि शिक्षक महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

सुझावित समाचार