नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश ल्याउन पाउने विषय संविधानमै उल्लेख भएको भन्दै विरोध गर्ने भए संविधान संशोधन गर्न चुनाैती दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा घिमिरेले भने, ‘आर्थिक उदारीकरणको विषयमा, निजी क्षेत्रलाई उत्पादनका क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ भन्ने विषयमा, विश्वबजारीकरणको विषयमा यो संसद्भित्र एक–दुईजना सांसदबाहेक लगभग सबैको सहमति भएको मैले पाएको छु। भाषण गर्दा त्यही भन्नुहुन्छ, संसद्को रोस्ट्रममा उभिएर त्यही बोल्नुहुन्छ। अनि त्यो कुरालाई प्रोत्साहन गर्ने गरी अध्यादेश ल्याउँदा बिग्रियो चाहिँ के? अनि यहाँनेर सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत किन पर्यो? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाऔँ। संविधान संशोधनको विषय उठिराखेको छ। होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा त संविधानमै स्पष्ट उल्लेख छ।’
संसद् छलेर अध्यादेश ल्याएको प्रतिपक्षी दलहरूको आरोपको खण्डन गर्दै घिमिरेले संसदमा पेस भएर दुवै सदनले पारित गर्नुपर्ने व्यवस्था स्मरण गराए। उनले भने, ‘संसद् छलेर अध्यादेश कानुन बन्छ? संसदमै आउने होइन? संसदमै आउँछ, संसदमा छलफल हुन्छ, त्यसमा संशोधन प्रस्ताव हाल्न पाइन्छ, प्रतिस्थापन विधेयक आउँछ, संशोधन प्रस्ताव राख्न पाइन्छ। संसद्का दुवै सदनले पारित गरेपछि मात्र अध्यादेश पारित हुने हो नि त।’
अध्यादेशमा कोकोहोलो गर्नुपर्ने विषय नरहेको दाबी गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले माओवादी नेतृत्वको सरकारले समेत अध्यादेश ल्याएको विषय उल्लेख गरे।
‘अध्यादेश जारी गर्नु, संसद्लाई छलेर अध्यादेश जारी गर्नुपर्ने के कारण पर्यो? सरकारलाई भन्ने कुरा गर्ने हो भने संसद् सुरु हुने मुखमै नौवटा कानुनलाई संधोधन गर्ने गरी अध्यादेश जारी गरेकोजस्तो लाग्छ मलाई, प्रमुख प्रतिपक्षी दलका नेता सम्माननीय पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा खेरी,’ उनले भने।