अवतरण गर्ने क्रममा क्यानडाको टोरन्टोमा यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको छ। जसमा केही घाइते भएका छन्।
अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एयरलाइन्सको विमान पल्टिएको हो। विमानमा सवार रहेका सबै ८० जना मानिसको उद्धार गरिसकिएको छ ।
टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान पल्टिएको हो। पल्टिएपछि अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालेका थिए। १८ जनालाई अस्पताल लगिएकोमा एक बालकसहित तीनजनालाई गम्भीर चोट लागेको छ ।
विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले आपतकालीन सेवाका कर्मचारीको चुस्त प्रतिकार्यका कारण मानवीय क्षति नभएको बताएकी छिन्। खराब मौसमका कारण सो दुर्घटना भएको बताइएको छ। विमान अवतरणको समयमा विमानस्थलमा हिमपात भएको थियो।