ओसिएले पठायो नीलेन्द्रराजलाई महासचिवका रूपमा निमन्त्रणा

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण
  • ओसिएको पत्रसँगै अदालत र सरकारको निर्देशनविरुद्ध निर्वाचन गरेका जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिकलाई अन्तर्राष्ट्रिय मान्यता पाउन कठिन

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले निवर्तमान महासचिव नीलेन्द्रराज श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)को महासचिवकै हैसियतमा निमन्त्रणा पठाएको छ । एनओसीमा देखिएको पछिल्लो विवाद समाधान गर्न ओसिएले सोमबार उनलाई महासचिवका रूपमा बैठकमा बोलाएको हो । ओसिएको यस पत्रसँगै लगातार तेस्रोपटक अध्यक्ष बनेका जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले अन्तर्राष्ट्रिय मान्यता नपाउने देखिन्छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले गत शुक्रबार नेपालको ओलम्पिक विवाद सुल्झाउन ओसिएलाई सम्पूर्ण जिम्मेवारी दिएको थियो । यसै विवाद सुल्झाउन ओसिएका जनरल निर्देशक हुसैन अल मुसालामले एनओसीका अध्यक्ष जीवनराम र महासचिव नीलेन्द्रराजलाई ५ मार्चमा कुवेतमा हुने छलफल गर्न डाकेका छन् । हुसैन अलले १४ फेब्रुअरीमा आइओसीले दिएको अधिकारअनुसारै नेपालका एनओसीका पदाधिकारीहरूलाई कुवेतमा हुन गइरहेको बैठकका लागि निमन्त्रण दिएको बताएका छन् । ‘आइसिसीले हामीलाई नेपालको पछिल्लो ओलम्पिक विवाद सुल्झाउन अधिकार दिइएको छ, यसैअनुरूप तपाईंहरूलाई बैठकमा बोलाइएको हो,’ हुसैन अलले भनेका छन्, ‘बैठकमा भाग लिन आवश्यक पर्ने डकुमेन्ट्स यथाशीघ्र पठाउन अनुरोध गरिएको छ ।’ 

सर्वोच्च अदातल र सरकारको निर्देशनविरुद्ध गत १३ पुसमा जीवनरामले तेस्रोपटक अध्यक्ष बन्न अनलाइन भोटिङमार्फत एनओसीको निर्वाचन गरेका थिए । जीवनराम समूहले पटक–पटक आफूहरूलाई आइओसी र ओसिएले मान्यता दिएको दाबी गर्दै आइरहेका छन् । तर, ओसिएको पछिल्लो पत्रअनुसार वर्तमान एनओसीलाई मान्यता नदिएको र पुरानै कमिटीलाई मात्र मान्यता दिएको देखिन्छ । एनओसीको निर्वाचनमा नीलेन्द्रराज जीवनरामका प्रत्याशी थिए । नीलेन्द्रराजले अन्तिम समयमा सर्वोच्च अदालत र सरकारको निर्णयविरुद्ध नजाने भनी निर्वाचनमा सहभागी जनाएनन् । 

‘मान्यता नदिएको प्रमाण’
निवर्तमान एनओसीका महासचिव नीलेन्द्रराजले अन्तर्राष्ट्रिय खेलकुदका प्रमुख निकाय आइओसी र ओसिएले अनलाइनबाट निर्वाचन गरेको एनओसीलाई मान्यता नदिएको प्रस्ट भएको नयाँ पत्रिकालाई बताए । ‘ओसिएले मलाई महासचिवका रूपमा पत्र पठाउनु भनेको अहिलेको निर्वाचित एनओसीलाई उनीहरूले मान्यता नदिएको प्रमाण हो,’ उनले भने, ‘नेपालको एनओसी विवाद समाधान गर्न पुरानै कमिटीबाटै हुनुपर्ने उनीहरूको भनाइ देखिन्छ ।’ 

उनले कुवेतमा हुने छलफलमा आफू जाने वा नजाने तत्काल निर्णय गरिनसकेको बताए । ‘सो बैठकमा जाने वा नजाने सम्बन्धमा छलफल हुनेछ, अदालतमा मुद्दा राखेका पाँच संघका पदाधिकारीसँग यस बारेमा बृहत् छलफल गर्छौँ,’ उनले भने । 

चीनमा लबिङ 
चीनको हार्बिनमा गत साता सम्पन्न विन्टर ओलम्पिकमा सहभागी भएका जीवनरामले आइओसी र ओसिएलाई अनलाइनबाट आफूहरूले गरेको आफ्नो निर्वाचनलाई मान्यता दिलाउन लबिङ गरेका थिए । तर, आइओसी र ओसिएको संयुक्त बैठकमा उल्टै एनओसी विवादबारे छलफल भएको स्रोतले बतायो । सो बैठकमै आइओसीका निर्देशक जेम्स म्याकलियोडले ओसिएलाई विवाद समाधान निर्देशन दिए । 

‘उहाँहरूले चीनमा मान्यताप्राप्त गर्न कोसिस गर्नुभएको थियो, तर उल्टै आइओसी र ओसिएले विवाद समाधान गरी अगाडि बढ्नुपर्ने निर्देशन दिए,’ स्रोतले भन्यो, ‘आइओसीको चार्टर्ड तथा ओलम्पिकको खेल भावनाअनुसार नेपालमा खेल र खेलाडीको विकास गर्न सुझाव दिएको छ ।’ 

यसैगरी, सोमबारको पत्रमा ओसिएले एनओसी निर्वाचनमा सहभागी नभएका र अदालतमा मुद्दा राखेका पाँच संघका पदाधिकारीलाई पनि कुवेतमा सहभागी हुन

निमन्त्रण दिएको छ । ‘एनओसी विवाद समाधान निमित्त तपार्इं पाँचजना संघका अध्यक्षलाई कुवेतमा आउन आग्रह हामीले गरेका छौँ,’ ओसिएका जनरल निर्देशक हुसैन अलको पत्रमा छ ।

See More On

सुझावित समाचार